काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले आफ्नो दोस्रो परियोजना अपर नौगाड जलविद्युत आयोजना ८ मेगावाटको निर्माण सम्पन्न गरी असोज ६ गतेबाट परीक्षण उत्पादन थालेको छ ।
आयोजनाले असोज १० गतेदेखि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्ने लक्ष्य लिएको छ । २०७३ साल असोज १२ गते विद्युत खरिदबिक्री सम्झौता सम्पन्न भएको यो आयोजनाको कुल लागत १ सय ६० करोड छ । आयोजनाले वार्षिक ४.८७ करोड किलोवाट विद्युत उत्पादन गर्ने अनुमान छ ।
यसमध्ये सुख्खा महिनामा १.१४ करोड र वर्षाका चार महिनामा ३.७५ करोड किलोवाट विद्युत उत्पादन हुने छ । यस आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने अत्तरिया वलाँच सबस्टेशन मार्फत राष्ट्रिय ग्रिडमा जोडिने छ । यसबाट सुदूरपश्चिम प्रदेशमा भरपर्दो विद्युत आपुर्ति हुने विश्वास कम्पनीले लिएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६