काठमाडौं। लगानी बोर्डको सोमबारको ४०औं बैठकले काठमाडौं बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’लाई दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार सिंहदरबारमा सम्पन्न बैठकले प्रस्ताव पेस गरी संक्षिप्त सूचीकरण (सर्ट लिस्ट)मा परेकामध्ये मापदन्ड र मूल्यांकनका आधारमा उक्त कम्पनीलाई जिम्मेवारी दिएको हो ।
बैठकले सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत् निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको परियोजना विकास गर्न ‘जुरिच एअरपोर्ट इन्टरनेसनल एजी’लाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । दुवै परियोजनाका लागि ती कम्पनीले ४५ दिनभित्र परियोजना विकासको प्रस्ताव पेस गर्नुपर्ने छ ।
लगानी सम्मेलनका क्रममा निजगढमा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणका लागि ७ वटा प्रस्ताव परेका थिए। लगानी बोर्डले सातमध्ये ६ वटा प्रस्तावकले मापदण्ड नपुर्याएको ठहर गरेको हो।
सरकारले पहिलो चरणमा विमानस्थल र हवाई उडानका लागि आवश्यक संरचना मात्रै निर्माण गर्ने तयारी गरेका छ। सरकारले एउटा रन वे, टर्मिनल भवनलगायत हवाई यातायातका लागि आवश्यक संरचनामात्रै निर्माण गर्ने तयारी गरेको अधिकारी बताउँछन्।
बैठकले पश्चिम सेती तथा एसआर ६ संयुक्त जलविद्युत् परियोजना, तल्लो अरुण जलविद्युत् परियोजनाका लागि प्रस्ताव पेस गर्नेमध्ये संक्षिप्त सूचीकरण छनोटका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा अलग–अलग समिति गठन गरेको छ ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६