१७ वैशाख, काठमाडौँ । मुलुकको प्रतिष्ठासँग जोडिएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भौतिक संरचना अभावले साँघुरिँदा अस्तव्यस्त बन्दै गएको छ । विमानस्थलको क्षमता कम हुँदा भिडभाड बढ्नाका साथै उडान सङ्ख्या पनि बढिरहेको छ । विमानस्थल साँघुरो भएकै कारण उडानको चापले एयर ट्राफिक जाम, विमान आकाशमै रहने (होल्ड) हुने, उडान तालिका परिवर्तन र उडान रद्दसमेत गर्नुपर्ने बाध्यता छ । विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय भौतिक संरचना बढाउन नसक्दा विमानस्थलको सेवा अस्तव्यस्त बन्दै गएको बताउँछन “विमानस्थलको पूर्वाधार संरचना बढाउन सकिएको छैन जसका कारण भिडभाड बढी हुने गरेको छ, यात्रुको चाप भएपछि सरसफाइमा पनि समस्या छ,”, उनले भने । विमानस्थलमा पार्किङको समस्या पुरानै हो । यसले विमानस्थललाई थप अस्तव्यस्त बनाएको छ । पार्किङकै कारण विमानस्थल साँघुरो हुँदा एयर ट्राफिक जाम बढेको महाप्रबन्धक उपाध्यायले बताए । आन्तरिक उडानतर्फ कतिपय निजी वायु सेवा कम्पनीले उडान स्वीकृति लिँदा बाहिरका गन्तव्यमा पार्किङ गर्ने भनिए पनि उनीहरुले केन्द्रमै राख्ने हँुदा थप चाप बढेको छ । विमानस्थलको क्षमता नहेरी एयरलाइन्सलाई उडान सञ्चालन अनुमति दिइँदा पनि समस्या भइरहेको सम्बद्ध अधिकारी बताउँछन् । विमानस्थलको टर्मिनल भवन साँघुरो हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार तत्कालीन समयमा १२ देखि १५ जहाज ‘हेन्डलिङ’का लागि बनेको टर्मिनल भवनमा अहिले करिब सय अन्तर्राष्ट्रिय उडान व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । आधा यात्रु कक्षमा पनि असाध्यै भिड छ । सय जना क्षमताको शौचालय दुई सय ५० जनाले प्रयोग गर्नुपर्ने बाध्यता छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०७४