काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भएको सम्पत्ति उत्पादनमा लगाउन साझालाई आग्रह गरेकी छिन् ।
मंगलबार काठमाडाैंमा भएकाे साझा भण्डार सहकारी संस्था लिमिटेडको १३औंँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । देशभर छरिएर रहेको अवस्थामा साझासँग प्रशस्तै सम्पत्ति रहेकाे भन्दै त्यसलाई परिचालन गरेर उत्पादनमा लगाउन शेयर सदस्यहररुलाई मन्त्री अर्यालले आग्रह गरिन्
‘शेयर सदस्यहरूले अलि मन फुकाउनुस् । साझामा लगाएको शेयर डुब्ला कि भन्ने डर नमान्नुस्, उत्पादनमूलक क्षेत्रमा काम गर्नेगरी अगाडि बढ्नुस्’, उनले भनिन् ।
मन्त्री अर्यालले विगतमा साझा भण्डारले गुणस्तरीय उपभोग्य वस्तु जनस्तरमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै अब पनि गुणस्तरीय सामग्री, वस्तु तथा सेवा जनतालाई उपलब्ध गराउन आग्रह गरिन् ।
अर्को प्रसंगमा मन्त्री अर्यालले सहकारी सिद्धान्त, मर्म विपरीत रातारात सहकारीले कमाउने सपना देखेपछि सहकारीमा विकृति आएको बताउँदै त्यसलाई समयमै रोक्न सकिने बताइन् ।
सबै सहकारीलाई प्रणालीमा आउन आग्रह गरिएको भन्दै उनले सहकारीमा राखेकाे रकम परिचालन गरेमा मात्रै फाइदा हुने र सहकारी संस्था लगानीको निम्ति बाधक भए कानुन संशोधन गरेर जाने कुरामा सरकार अगाडि बढेको जानकारी दिइन् ।
अब सहकारी संस्थाका सञ्चालकहरू पनि क्षमताका आधारमा प्रतिस्पर्धात्मक ढंगबाट निर्वाचित हुने प्रणालीको विकास गरिएको भन्दै उनले त्यसको व्यवस्था सहकारी नियमावलीमा गरिएको पनि बताइन् ।
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६