काठमाडौँ । काठमाडौँ उपत्यकालगायत सहरी क्षेत्रमा घर बहालमा बस्नेलाई घरबेटीले मनलाग्दी विद्युत् महसुल लिइएको विषयमा नेपाल विद्युत् प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ ।
प्राधिकरणद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, प्राधिकरणसँग विद्युुत् लिएर मनलाग्दी तवरले व्यापार नगर्नुस्, जति महसुल उठेको हो, सोही अनुसार मात्रै घर बहालमा बस्नेसँग महसुल लिनुस् ।
प्राधिकरणले २० युनिटसम्मको विद्युतमा ३० रुपैयाँ सेवा शुल्क लिएको छ भने प्रतियुनिट ३ रुपैयाँका दरले लिने गरेको छ । यस आधारमा २० युनिट विद्युत् प्रयोग गर्नेले ९० रुपैयाँ महसुल तिर्नुपर्छ । यस्तै २१ देखि ३० युनिटसम्म सेवा शुल्क ५० र प्रतियुनिट ७ रुपैयाँका दरले लिने गरेको छ । यस आधारमा १ सय २० रुपैयाँ महसुल तिर्नुपर्छ । यस्तै ३१ देखि ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकले सेवा शुल्क ७५ र प्रतियुनिट ८ रुपैयाँ ५० पैसाका दरले तिर्नुपर्छ ।
प्राधिकरणको महसुल दरअनुसार ५१ देखि १५० युनिटसम्म खपत गर्ने ग्राहकले सेवाशुल्क १ सय र प्रतियुनिट १० का दरले तिर्नुपर्छ । १ सय ५१ देखि २ सय ५० युनिटसम्म सेवा शुल्क १ सय २५ र प्रतियुनिट ११, २ सय ५१ देखि ४ सय युनिटसम्म खपत गर्ने घरायसी ग्राहकले सेवा शुल्क १ सय ५०, प्रतियुनिट १२ र त्यसभन्दा माथि सेवा शुल्क १ सय ७५ र प्रतियुनिट १३ का दरले तिर्नुपर्ने व्यवस्था छ ।
सो महसुल पाँच एम्पियर विद्युत् लिने ग्राहकको हकमा लागू हुने गरेको छ । यस्तै १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरको महसुलमा भने सामान्य बढी मात्रै छ । तर सहरी क्षेत्रमा घर बहालमा बस्नेले मनलाग्दी शुल्क लिएको विषयमा गुनासो पनि आएको भन्दै प्राधिकरणले विद्युतमा अनावश्यक व्यापार नगर्न भनेको हो ।
घिसिङले भने, प्राधिकरणले तोकेकाभन्दा बढी दरमा महसुल असुल्नु गैरकानूनी हो । प्राधिकरणसँग तोकिएको दरमा किनेको विद्युत् त्योभन्दा बढीमा बेचेर व्यापार गर्न पाइँदैन । उनले त्यस्तो व्यवहारले प्राधिकरणप्रति नै नागरिको धारणा गलत हुने भएकाले अनावश्यक व्यापार नगर्न र महसुल के कति हो सो आधारमा मात्रै महसुल तिर्न घरबहालमा बस्नेलाई आग्रह गरे ।
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६