काठमाडौं । काठमाडाैंकाे होटल हायातमा नेपाल पूर्वाधार सम्मेलन सुरु भएको छ । नेपाल सरकार र नेपाल उद्योग परिसंघसहित विभिन्न संघसंस्थाकाे संयुक्त आयाेजनामा सम्मेलन भएकाे हाे ।
सम्मेलनमा लगानी बोर्डका २१ र प्रदेशस्तरका ८२ ओटा आयोजना प्रदर्शनी गरिने आयोजक नेपाल उद्योग परिसंघले जनाएको छ । सम्मेलनको प्रथम सत्रलाई सम्बाेधन गर्दै पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संयाेजक डा. बाबुराम भट्टराईले निजगढ अन्तरराष्ट्रिय विमानस्थलमा निजी क्षेत्रले लगानी साझेदारी गर्नसक्ने बताए । द्रुतमार्गसँग जोडेर विमानस्थलमा लगानी गर्न उनले निजी क्षेत्रलाई आग्रह गरे ।
अहिले काठमाडौंमा केन्द्रित सहरीकरणलाई विकेन्द्रिकरण गर्न कम्तीमा तराई मधेससँग जोड्नुपर्ने भन्दै उनले तराई क्षेत्रमा सहरीकरण बढाउन सकिने बताए । उनले अन्य पूर्वाधार आयोजनामा अहिले नै निजी क्षेत्रले लगानी गर्नसक्ने सामर्थ्य बनाइनसकेको बताए । ‘हामीले सुरुङमार्ग बनाउन निजी क्षेत्रलाई दिएका हौं, तर त्यो बन्न सकेन,’ उनले भने, ‘यसले हाम्रो निजी क्षेत्र अहिले पूर्वाधार परियोजनामा लगानी गर्नसक्ने अवस्थामा नपुगेको देखाउँछ ।’
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले पछिल्लो समय नेपालले श्रम ऐनदेखि विदेशी लगानी तथा प्रविधी हस्तान्तरण ऐनलगायत थुप्रै कानुनी सुधार गरेर लगानीको वातारण सुधार्न प्रयास गरेको बताए । भारत, चीन, अमेरिका, नर्वेजस्ता मुलुकका लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको र अरु मुलुकका लगानीकर्ता पनि निरन्तर परियोजनाबारे छलफलमा आइरहेको उनले बताए ।
कार्यक्रममा एसियाली विकास बैंकका महानिर्देशक वूचोङ उमले विश्वब्यापी तापमान बृद्धि र जलवायु परिवर्तनका प्रभावलाई मध्येनजर गरेर रेसिलियण्ट पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताए । उनले संयुक्त राष्ट्रसंघले अघि सारेको दिगो विकास लक्ष्य र नेपालले समृद्धि लक्ष्यलाई जोड्न समुदायमा आधारित पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा सीएनआईका उपाध्यक्ष विष्णुकुमार अग्रवाल, पुर्व राजश्वसचिव लालशंकर घिमिरे, रकभिल्ड टेक्नोलोजी, अस्ट्रेलियाका सीईओ गोविन्द पाण्डे, एडीबीका पुर्व उपाध्यक्ष डा विन्दु लोहनी लगायतले पछिल्लो समय नेपालमा लगानीको वातारण सुधार भइरहेको र लगानीका नयाँ विकल्पहरुको बारेमा छलफल बढ्दै गएको बताए ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६