काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्त र रसियन राजदूत एलेक्सी ए. नोविकोभबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका साथै ऊर्जा र जलस्रोत क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको हो ।
भेटमा ऊर्जामन्त्री पुनले नेपाल र रसियाबीचको सम्बन्ध इतिहासदेखि नै सुमधुर रहेको भन्दै आगामी दिनमा पनि सम्बन्ध प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।
उनले रसियाले विगतमा पनि पनौती हाइड्रो, पूर्व पश्चिम राजमार्ग र पूर्वाधार निर्माणमा सहयोग गरेको नेपाली जनताले सम्झिरहेको भन्दै आगामी दिनमा सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।
मन्त्री पुनले जलविद्युतको क्षेत्रमा लगानीको राम्रो वातावरण रहेको भन्दै रसियन लगानीकर्तालाई सन्देश प्रवाह गरिदिन राजदूतसँग आग्रह गरे ।
‘जलविद्युत क्षेत्र सरकारको समेत उच्च प्राथमिकतामा छ । १ सय मेगावाटभन्दा माथिको परियोजनाको पिपिए पनि सरकारले गर्छ । यो सन्देश रसियन लगानीकर्तालाई प्रवाह गरिदिनुपर्यो’, मन्त्री पुनले भने ।
जवाफमा राजदूत नोविकोभले ऊर्जा क्षेत्रमा सहकार्य गर्न रसिया इच्छुक रहेको भन्दै लगानीको वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६