काठमाडौं । पछिल्लाे समय निकै उतारचढाव भइरहेकाे सुनकाे मूल्य आज भने घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले घटेको छ ।
बिहीबार नेपाली बजारमा छापावाला सुनको मूल्य ७३ हजार ४ सय रुपैयाँ रहेकामा आज घटेर ७२ हजार रुपैयाँ कायम भएकाे छ । बुधबार ७३ हजार ५ सय रहेकाे सुनकाे मूल्य बिहीबार १ सय रुपैयाँ घटेकाे थियाे । यस्तै तेजावी सुन शुक्रबार प्रतितोला ७१ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै शुक्रबार चाँदी ९ सय रुपैयाँमा बाराेबार भइरहेकाे छ ।
साउन महिनाको सुरुदेखि नै नेपाली बजारमा सुनको मूल्य उकालो लाग्न थालेको हो । साउनमा मात्रै सुनको मूल्य करिब ७ हजार ५ सय रुपैयाँले वृद्धि भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकासिएसँगै नेपाली बजारमा पनि मूल्य बढेको महासंघले जनाएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस १ हजार ५ सय ३७.५९ अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो सुनको मूल्यले नेपाली बजारलाई दबाबमा पारेको हो ।
बढ्दो क्रममा रहेको चीन–अमेरिका व्यापार युद्ध, अमेरिकी केन्द्रीय बैंकद्वारा ब्याजदरमा कटौतीलगायत कारणबाट विश्वबजारमा सुनको मूल्य प्रभावित भइरहेको छ । पछिल्लो समय अमेरिका र चीनले एकअर्का देशका उत्पादनमा थप कर वृद्धिको घोषणा गरेसँगै सुनको मूल्य झन् प्रभावित हुने आँकलन गरिएको छ । अहिले बजारमा सुनको बिक्री ठप्प प्रायः रहेको व्यवसायी बताउँछन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६