काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन इन्डोनेसियाको भ्रमण गरेर स्वदेश फर्किएका छन् । इन्डोनेसियाको बालीमा भएको अन्तर्राष्ट्रिय जल तथा सिँचाइ आयोगको तेस्रो विश्व सिँचाइ फोरममा सहभागी भएर मन्त्री पुनः बुधवार स्वदेश फर्किएका हुन् ।
उनले सम्मेलनमा सहभागी हुँदा चीन र इन्डोनेसियासहित विभिन्न देशका समकक्षी मन्त्री र विकास नियोगका उच्च अधिकारीसँग छलफल भएको भन्दै भ्रमण फलदायी भएको बताए ।
‘विश्व सिँचाइ फोरममा आफ्ना अनुभव आदानप्रदान गर्न मद्दत पुग्नुका साथै नेपालको सिँचाइ क्षेत्रमा गर्न सकिने सम्भावित परियोजनाका बारेमा समेत छलफल भयो’, मन्त्री पुनले विमानस्थलमा सञ्चारकर्मीसँग भने ।
मन्त्री पुनले एसियाली विकास बैंक (एडिबी) का निर्देशक मियो ओकासँग समेत भेटवार्ता गरेका थिए । उनले एडिबीका निर्देशकसँग सर्लाही र रौतहटमा सिँचाइ पुर्याउनका लागि एक हजार सोलार पम्प पुर्याउने विषयमा छलफल सकारात्मक भएको जानकारी दिए ।
सर्लाही र रौतहटको ४० हजार हेक्टर जमिनमा सिँचाई सुविधा पुर्याउन एडिबीले अध्ययन गरिरहेको छ । मन्त्री पुनले त्यसमा थप सहयोग गर्न एडिबी तयार रहेको जानकारी दिए । एडिबीले नेपालमा २० मेगावाटको सोलार विद्युत उत्पादन गर्ने परियोजनामा समेत अध्ययन गरिरहेको छ ।
नेकपाका नेता समेत रहेका मन्त्री पुनले विश्वभर भएको मौसम परिवर्तनले नेपालको कृषि तथा सिँचाइको क्षेत्रलाई गम्भीर असर पारिरहेको भन्दै नेपाल सरकारले जलवायु परिवर्तनको असर कम गर्न प्रयास गरिरहेको धारणा समेत सम्मेलनमा राखेका थिए ।
प्रकाशित मिति: बुधबार, भदौ १८, २०७६