काठमाडाै । भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य पुनः उकालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ ।
नेपाली बजारमा छापावाला सुनको मूल्य ७३ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार पनि सुनको मूल्य प्रतितोला ५ सयले वृद्धि भई तोलाको ७२ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार २ सय निर्धारण गरिएको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ७२ हजार २ सयमा काराेबार भएको थियो ।
सुनको मूल्य वृद्धिसँगै चाँदीको मूल्य पनि उच्च वृद्धि भएको छ । स्थानीय बजारमा आज चाँदीको मूल्य प्रतितोला ३५ ले वृद्धि भई ९ सय ४० रुपैयाँ पुगेको छ ।
पछिल्लो १५ दिनमा सुनको मूल्य छ पटक बढेको छ भने तीन पटक घटेको छ । भदौको सुरुदेखि हालसम्म सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ । भदौ १ गते छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ७ सय कायम भएको थियो ।
साउन महिनाको सुरुदेखि नै नेपाली बजारमा सुनको मूल्य उकालो लाग्न थालेको हो । साउनमा मात्रै सुनको मूल्य करिब ७ हजार ५ सय रुपैयाँले वृद्धि भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकासिएसँगै नेपाली बजारमा पनि मूल्य बढेको महासंघले जनाएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस १ हजार ५ सय ३७.५९ अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो सुनको मूल्यले नेपाली बजारलाई दबाबमा पारेको हो ।
बढ्दो क्रममा रहेको चीन–अमेरिका व्यापार युद्ध, अमेरिकी केन्द्रीय बैंकद्वारा ब्याजदरमा कटौतीलगायत कारणबाट विश्वबजारमा सुनको मूल्य प्रभावित भइरहेको छ । पछिल्लो समय अमेरिका र चीनले एकअर्का देशका उत्पादनमा थप कर वृद्धिको घोषणा गरेसँगै सुनको मूल्य झन् प्रभावित हुने आँकलन गरिएको छ । अहिले बजारमा सुनको बिक्री ठप्प प्रायः रहेको व्यवसायी बताउँछन् ।
प्रकाशित मिति: बुधबार, भदौ १८, २०७६