१४ वैशाख, पर्वत । दक्षिण पर्वतको भोक्सिङमा वनमारा फाँडेर जङ्गलभरि अलैँचीखेती विस्तार गरिएको छ । अलैँचीखेतीका लागि उपयुक्त हावापानी, मनग्य आम्दानी गर्न सकिने तथा एकपटक रोपेपछि दुई दशकसम्म उत्पादन लिन सकिने भएकाले यहाँका बासिन्दाले वनमारा फाँडेर अलैँचीखेती सुरु गरेका हुन् । स्थानीयवासीले रु दुई करोडको लागतमा दुई वर्षदेखि अलैँचीखेती गर्न थालेका हुन् । खेर गएको जमिनको उपयोग गरी आय आर्जन गर्ने उद्देश्यले कृषकले गाउँमै सामूहिक फार्म खोलेर व्यावसायिक खेतीको सुरुवात गरेका हुन् । उनीहरुले भोक्सिङ बहुउद्देश्यीय कृषि तथा बाख्रापालन समूह स्थापना गरी एक हजार ५०० रोपनी क्षेत्रफलमा एक लाख अलैँचीका बिरुवा रोपेका छन् । अहिले अलैँचीले फल दिन सुरु गरेको छ । बजारमा अहिले अलैँचीको मूल्य प्रतिमन रु ५० हजार रहेको छ । प्रशस्त आम्दानी गर्न सकिने भएपछि यहाँका बासिन्दा जङ्गलमा लगानी गर्न थालेका छन् । सुरुमा स्थानीय ३० जना कृषकले खेती सुरु गरेका हुन् । क्षेत्रफल बढाएर दुई हजार रोपनी पु¥याउने उनीहरुको लक्ष्य छ । लामो समय बेलायती र भारतीय सेनामा कार्य गरेर सेवानिवृत भएर फर्किएकाहरु अलैँची खेतीमा लागेका समुहका अध्यक्ष विरजङ्ग गुरुङले बताउनुभयो । उहाँ लमजुङ पश्गाउँबाट अलैँची खेती गर्न भोक्सिङ आउनुभएको हो । यस वर्ष उहाँले दुई क्विन्टल अलैँची उत्पादन गर्नुभएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०७४