काठमाडौं । मोबाइल एप ‘रिचार्जर’ले सञ्चालन गरिरहेको ग्याजेट्स मेलामा ४९९ रुपैंयामा मोबाइल अफर सुरु गर्ने भएको छ ।
रिचार्जरका एक जना प्रयोगकर्ताले एउटा मात्र मोबाइल ४९९ रुपैंयामा खरिद गर्न सक्ने छन् । भदौ १९ गते बिहीबार रिचार्जर एपबाट ४९९ रुपैंयामा मोबाइल खरिद गर्न सकिने छ । बिहीबार मध्याह्न १२ बजे सुरु हुने अफर चार घण्टा चल्ने छ । रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहका अनुसार चार घण्टा अवधिका लागि १० हजार थान मोबाइल बिक्री हुने अपेक्षा गरिएको छ ।
यसैगरी एनआईसी एसिया बैंकसँगको सहकार्यमा रिचार्जरले वान प्लस सेभेन मोबाइल बुकिङ गर्दा १० प्रतिशतसम्मको क्यास ब्याक दिने योजना पनि रिचार्जरले ल्याएको छ । योजना अनुसार एनआईसी एसिया बैंकको मोबाइल बैंकिङबाट वान प्लस सेभेन मोबाइलको रकम भुक्तान गर्दा १० प्रतिशत रकम ४८ घण्टाभित्रमा सेवाग्राहीको बैंक खातामा फिर्ता हुने एनआईसी एसिया बैंकले जनाएको छ ।
अन्य फोन पे एपहरूबाट उक्त मोबाइलको रकम भुक्तान गर्दा पाँच प्रतिशत रकम तत्काल बैंक खातामा फिर्ता हुने रिचार्जरले जनाएको छ । त्यसैगरी रिचार्जरले पनि उक्त मोबाइल किन्दा पाँच प्रतिशत रकम बराबरको क्यास ब्याक प्वाइन्ट रिडिम गर्न सकिने व्यवस्था मिलाएको छ ।
यस्तै रिचार्जरबाट सामसुङ नोट १० र नोट १० प्लस मोबाइल शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा किन्न सकिन्छ । ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले केही समयअघि मात्र अपडेट गरिएको एपबाट सहज रुपमा आवश्यक उपकरणहरू खरिद गर्न सकिने बताए ।
भदौ ११ गतेदेखि चलिरहेको ग्याजेट्स मेलामा अफरभित्र अफरअन्तर्गत सेवाग्राहीले सरप्राइज गिफ्ट ह्याम्पर पाउने छन् । अफरभित्र अफरसहित ५० प्रतिशतसम्मको छुटका साथै क्यास प्वाइन्ट रिडिम गरी मेलामा सुपथ मूल्यमा सामान किन्न सकिन्छ ।
विभिन्न बैंक तथा ब्रान्डसँगको सहकार्यमा ‘अहिले लिनुहोस्, पछि तिर्नुहोस्’ योजनासहित रिचार्जरले ग्याजेट्स मेला सञ्चालन गरेको हो । मेलामा सस्तो मूल्यमा मोबाइल तथा इलेक्ट्रोनिक्स ग्याजेटहरू शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा किन्न सकिने रिचार्जरले जनाएको छ । सबै अफरमा सहभागी हुनका लागि सेवाग्राहीले एन्ड्रोइड तथा आइफोनमा रिचार्जर एप डाउनलोड गरी खाता सञ्चालनमा ल्याउनुपर्ने हुन्छ ।
मेलामा मोबाइल, ल्यापटप, क्यामेरा, टेलिभिजन, एयर कन्डिसनर, रेफ्रिजिरेटर लगायतका उपकरणहरू शून्य प्रतिशत ब्याजदरमा घरमा बसेर अर्डर गर्न सकिने छ । नजिकिँदै गरेको दसैँ तथा तिहारको अवसर पारेर रिचार्जरले जीप कम्पनीको हरेक गाडीको खरिदमा एक लाख क्यास प्वाइन्ट समेत उपलब्ध गराउने भएको छ ।
यसका साथै रिचार्जर एप डाउनलोड गरी खाता खोलेर कारोबार गर्नेमध्येबाट एक जनालाई रिचार्जरले सामसुङको ए ट्वान्टी मोबाइल प्रदान गर्ने भएको छ । यही भदौ २९ गते साढे ४ बजे रिचार्जरको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरी मोबाइल विजेता घोषणा गर्ने रिचार्जरले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६