काठमाडौं । जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया सुरु गरेको छ । जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा गरेको थियो । पहिलो चरणमा जापानले केयर गिभरमा कामदार लैजाने तयारी गरेको हो ।
जापानमा रोजगारीका लागि योग्य हुन जापानी भाषा तथा सीप परीक्षा उत्तीर्ण गर्नुपर्ने छ । ‘स्पेसिफाइड स्किल्ड वर्कस’ अन्तर्गत जापानमा नर्सिङ केयर गिभरमा जान चाहनेले नर्सिङ केयर र जापानी भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ ।
नर्सिङ केयर गिभरमा जापान जान चाहनेले ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’ अन्तर्गत ६० मिनेटमा ४५ वटा प्रश्नको लिखित उत्तर दिनुपर्ने छ । जसमा ‘फन्डामेन्टल अफ केयर’को १०, ‘मेकानिज्म अफ द माइन्ड एन्ड बडी’ को ६, ‘कम्युनिकेसन स्किल’ को ४, ‘फिजिकल केयर’ को २० र प्रयोगात्मक अभ्यास अन्तर्गत पाँच वटा प्रश्नको उत्तर दिनुपर्ने छ । प्रयोगात्मक परीक्षा कम्प्युटर प्रणाली (सिबिटी) माध्यमबाट दिनुपर्ने छ ।
यसैगरी परीक्षार्थीले ‘नर्सिङ केयर जापानीज ल्यांग्वेज इभ्यालुएसन टेस्ट’ अन्तर्गत ३० मिनेटमा १५ वटा प्रश्नको उत्तर दिनुपर्ने छ । जसमा ‘टेक्निकल टम्र्स अफ केयर’ ५, ‘कम्युनिकेसन अफ केयर’ ५ र ‘डकुमेन्ट अफ केयर’को ५ गरी १५ अंकको भाषा परीक्षा दिनुपर्ने छ ।
भाषा र सीप परीक्षाका लागि एक हजार जापानी येन दस्तुर बुझाउनुपर्ने उल्लेख गरिएको छ । परीक्षा सम्पन्न भएको एक महिनापछि नतिजा सार्वजनिक हुने छ । कम्तीमा ६० प्रतिशत अंक प्राप्त गर्ने परीक्षामा उत्तीर्ण हुने जापानी श्रम मन्त्रालयले जनाएको छ ।
आगामी कात्तिक १० देखि १२, १९ देखि २१ र २६ देखि २८ गतेसम्म परीक्षा सञ्चालन हुने छ । परीक्षाका लागि कसरी आवेदन गर्ने भन्ने बारेमा आगामी असोज १५ गतेभित्र जानकारी दिइने बताइएको छ ।
नेपाल र जापान सरकारबीच गत चैत ११ गते नेपाली श्रमिक पठाउने सम्बन्धी ‘सहयोग समझदारी’ (एमओसी)मा हस्ताक्षर भएको थियो । जापानले १४ वटा कार्यक्षेत्रमा विदेशी श्रमिक भित्र्याउने नीति लिएको छ । जापानले कृषि, नर्सिङ केयर, सवारी सधान मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपुर्जा उद्योग एवं हवाई उद्योगमा श्रमिक लिने जनाएको छ ।
नेपाली श्रमिकलाई १४ वटै कार्यक्षेत्रमा खुला गरिएको भए पनि कुनकुन क्षेत्रमा के कति संख्यामा नेपाली श्रमिकको माग हुने भन्ने विषय निश्चत हुन बाँकी रहेको श्रम मन्त्रालयले जनाएको छ । रासस
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६