काठमाडाैं । सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ६६ प्रतिशत सेयर राखी बाँकी सेयर बिक्री गर्ने तयारी गरेको छ । हाल धितोपत्र बजारमा सूचीकृत भएको सबैभन्दा बढी सेयर हिस्सा रहेको कम्पनीको थप सेयर जनतालाई दिने तयारी गरिएको हो ।
कम्पनीको सेयर संरचनाअनुसार ९१.५२ प्रतिशत संस्थापक सेयर नेपाल सरकारको छ भने ८.४८ प्रतिशत सेयर आमसर्वसाधारण र कर्मचारीको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमको थप सेयर आम नागरिकलाई दिने विषयमा छलफल भइरहेको जानकारी दिए । उनले सरकारी स्वामित्वमा रहेको केही सेयर सर्वसाधारणलाई बिक्री गर्नुपर्छ भन्ने विषयमा छलफल भइरहेको बताए ।
उनले भने, सरकारले ६६ प्रतिशत सेयर राखेर बाँकी सर्वसाधारणलाई दिँदा हुन्छ भन्नेमा मन्त्रालय छ । टेलिकममा कुल एक करोड २७ लाख कित्ता सेयर मात्र सर्वसाधारणको छ । सेयर संरचनाअनुसार सर्वसाधारण सेयरधनीको ४.४४ प्रतिशत, कर्मचारीको ४.०४ प्रतिशत तथा नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर स्वामित्व टेलिकममा छ ।
धितोपत्र बजारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको कुल १५ करोड कित्ता सेयर सूचीकृत छ । बजार मूल्यका आधारमा सो कम्पनीको सेयर प्रतिकित्ता ६६३ रुपैयाँमा कारोबार भइरहेको छ । बजार पूँजीकरणमा सधैं शीर्ष स्थानमा रहँदै आएको सो कम्पनीको बजार ओरालो लागेको अवस्थामा समेत ९९ अर्ब ४५ करोड रुपैयाँ बराबरको छ ।
सो कम्पनीले आर्थिक वर्ष २०६६/६७ मा सेयरधनीलाई ४० प्रतिशत लाभांश दिएको थियो भने आव २०७४/७५ मा ५५ प्रतिशत लाभांश दिएको छ । कम्पनीले गत साउनमा प्रकाशित गरेको आर्थिक वर्ष २०७५/७६ को विवरणअनुसार आम्दानीमा तीन अर्बभन्दा बढीको ह्रास आएको छ । अनुमतिपत्रबापतको खर्च बढेर नाफामा गिरावट आएको कम्पनीले जनाएको छ ।
आव २०७५/७६ को वित्तीय विवरणअनुसार टेलिकमको नाफा २०७४/७५ को तुलनामा सात अर्ब २७ करोड २७ लाख रुपैयाँले घटेको छ । टेलिकमले आव २०७५/७६ को एक वर्षमा १० अर्ब २० करोड ८१ लाख खुद मुनाफा कमाएको छ । यस्तो नाफा आव २०७४/७५ मा १७ अर्ब ४८ करोड ३८ लाख रहेको टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
मन्त्री बाँस्कोटाका अनुसार सरकारलाई कर तथा नवीकरण शुल्क बढी बुझाउनु पर्दा पनि कम्पनीको नाफा केही घटेको हो । टेलिकमले नवीकरण शुल्कबापत २० अर्ब तिर्नुपर्ने भएको छ । मन्त्रिपरिषद्को गत जेठ १०, १३ र १५ गते बसेको बैठकले पाँच किस्तामा उक्त नवीकरण शुल्क तिर्नुपर्ने निर्णय गरेको थियो । मोबाइल सेवा सञ्चालनका लागि अनुमति लिएपछि पहिलो पटक दश वर्षमा एक पटक र दोस्रो पटक पाँच वर्षमा अनुमतिपत्र नवीकरण गर्नुपर्ने व्यवस्था छ । टेलिकमले २०५६ सालमा पछि निर्धारण हुने नवीकरण शुल्क तिर्ने शर्तमा मोबाइल सेवा सञ्चालन गर्ने गरी अनुमति लिएको थियो ।
नाफा घट्नु र नवीकरण शुल्क पनि तिर्नुपरेको सन्दर्भमा मन्त्री बाँस्कोटाले भने, घिऊ कहाँ पोखियो दालमा । उनले संस्थाको समग्र हितलाई विचार गरेर मात्रै टेलिकमका रणनीतिक साझेदार भित्र्याउने विषयमा छलफल चलिरहेको बताए ।
हामीलाई चित्त बुझ्यो भने हामी ल्याउन सक्छौँ । खासमा प्रविध र ज्ञान ‘सेयर’ गर्दै भौतिक पूर्वाधारको विकासका निम्ति आफ्नो हितको संरक्षण र सुरक्षित गरेर मात्रै ल्याउँछौ । त्यसमा आर्थिक, प्राविधिक, संस्थागत हित संरक्षण गर्छौँ भने कर्मचारीको सुरक्षालगायत विषय पनि त्यसमा समेटिन्छ , उनले भने ।
हाल टेलिकमको चुक्ता पुँजी १५ अर्ब छ भने सञ्चित कोषमा ८६ अर्ब ७३ करोड १७ लाख रुपैयाँ राखिएको छ । टेलिकमले एक वर्षमा सेवा बिक्रीबाट ३६ अर्ब ७८ करोड ४८ लाख कमाएको छ ।
विश्वव्यापी रुपमै टेलिकम क्षेत्रमा भ्वाइस र एडीएसएलतर्फको आम्दानी घटेकाले त्यसको प्रभाव नेपालमा पनि परेको छ । रासस
प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६