काठमाडौं । शनिबारदेखि बन्द रहेको एनआईसी एसिया बैंकको एटिएम सेवा चालु भएको छ । शनिबार चिनियाँ ह्याकरले बैंकिङ सिस्टम नै ह्याक गरेर रकम चोरी गरेपछि एटिएम सेवा बन्द भएको थियो ।
बैंकले विज्ञप्ति जारी गरेर प्राविधिक कारणले अवरुद्ध भएको एटिएम सेवा पुनः सुरु भएको जनाएको छ । ‘एटिएम सेवा पुनः सुरु भइसकेको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ । अब बैंकको एटिएम कार्ड एटिएम मेसिन वा पस मेसिन दुवैमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
प्राविधिक कारणले केही समय सेवा अवरोध भएकामा बैंकले सेवाग्राहीसँग क्षमासमेत मागेको छ ।
यसैगरी बैंकले आफ्नो बैंकको सिस्टम र उपकरण सुरक्षित रहेको पनि जनाएको छ । ‘हाम्रा सबै प्रणाली तथा पूर्वाधार पूर्ण रुपमा सुरक्षित छन्’, विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि ग्राहक वा बैंकले आर्थिक क्षति भोग्नु पर्दैन ।’
सिस्टम ह्याकको विषयमा विशेषज्ञ टोलीले अध्ययन गरेको र केही समस्या नदेखिएको दाबी गर्दै बैंकले निक्षेपकर्तालाई कुनै पनि चिन्ता नलिन आग्रह गरेको छ ।
शनिबार राति चिनियाँ ह्याकरले सिस्टम नै ह्याक गरेर दरबारमार्गको नबिल बैंकको एटीएमबाट एक करोड ६८ लाख रुपैयाँ चोरी गरेका थिए । चोरी भएकोमध्ये एक करोड २६ लाख रूपैयाँ प्रहरीले बरामद गरिसकेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६