काठमाडौं । पछिल्लो समय नेपालमा नगद पैसा बोक्ने मानिस प्रायः कमै हुन्छन् । त्यसका केही कारण छन् । ती कारणमध्येको प्रमुख हो, नगद रुपैयाँ बोकेर हिँड्दा हराउने वा चोरी हुने डर । यही डर कम गर्न अहिले प्रायः सबैले एटिएम कार्ड प्रयोग गर्छन् । एटिएम बोकेर हिँड्दा नगद चोरी हुँदैन । आवश्यक परेको अवस्थामा एटिएम बुथमा गएर तुरुन्तै नगद निकालेर प्रयोग गर्न सकिन्छ ।
तर आममानिसको यो विश्वास टुटेको छ । नेपालमा सञ्चालित एटिएम बुथहरु पनि सुरक्षित छैनन् भने प्रमाणित भएको छ । शनिबार राति एटिएम बुथबाट नगद चोरी गर्दै गरेको गिरोह प्रहरीको फन्दामा परेपछि एटिएम पनि असुरक्षाको घेरामा परेको खुलेको हो ।
शनिबार राति दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट रकम चोरी गर्दै गरेको चिनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका पाँच जनाको साथबाट एक करोड २६ लाख नेपाली रुपैयाँ र नौ हजार अमेरिकी डलर बरामद गरेको प्रहरीले जनाएको छ । बैंकिङ सिस्टम नै ह्याक गरेर गिरोहले पैसा चोरी गरेपछि एटिएमको सुरक्षामा नै गम्भीर प्रश्नचिह्न खडा भएको छ ।
सिस्टम ह्याक गरेर पैसा चोरी भएपछि सबै बैंकहरुले एटिएम सेवाको सर्भर डाउन गरेका थिए । केही बैंकको एटिएमबाट पैसा झिकिएपछि एटिएम सेवा सञ्चालनमा बाधा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । कुन बैंकबाट कति रकम झिकियो भन्ने विवरण प्रप्त भइसकेको छैन ।
राष्ट्र बैंकमा आकस्मिक बैठक
सिस्टम ह्याक गरेर एटिएम बुथबाट पैसा चोरी भएपछि राष्ट्र बैंकमा आकस्मिक बैठक बोलाइएको छ । राष्ट्र बैंकमा नेप्स, सम्बन्धित बैंकका अधिकारीहरु छलफलमा छन् । के कति रकम लुटिएको हो भन्नेबारे हालसम्म यकिन भइसकेको छैन । कति रकम लुटिएको हो र सुरक्षित उपाय के हुनसक्छ भनेर राष्ट्र बैंकमा छलफल भइरहेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।
निरौलाका अनुसार एटिएमबाट पैसा चोरी भए पनि यसले ग्राहकलाई भने केही असर पर्ने छैन । ‘केही एटिएमबाट पैसा निकालिएको छ । तर निक्षेपकर्ताको खातामा भएको पैसा भने सुरक्षित छ ।’
प्रारम्भिक अनुसन्धानमा छ वटा बैंकको एटिएमबाट पैसा झिकिएकामा दुई बैंकको प्रणाली नै ह्याक गरिएको पाइएको छ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) को बैंकिङ प्रणाली चिनियाँ गिरोहले ह्याक गरेको हो ।
बैंकहरुले भने गेट वे सर्भरमा समस्या आएपछि २४ घण्टाका लागि सम्पूर्ण एटीएम डाउन हुन सक्ने बताएका छन् । यद्यपि अहिले केही बैंकबाहेक सबैको सेवा चालु भइसकेको बैंकहरुले जनाएका छन् । सम्बन्धित बैंकको एटिम मेसिनबाट मात्र पैसा निकाल्न मिल्ने सम्बन्धित अधिकारीहरुले जनाएका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६