१३ वैशाख, काठमाडौँ । चालु आर्थिक वर्ष २०७३/७४ मा कुल गार्हस्थ्य उत्पादन वृद्धि ६.९४ प्रतिशत हुने भएको छ । गत आवको यही समयमा ०.०१ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको थियो । यस आवको छ देखि नौ महिनाको यथार्थ तथ्यांकको आधारमा र बाँकी महिनाको सामान्य अवस्था रहेको अवस्थालाई अनुमानमा कुल गार्हस्थ्य उत्पादन उत्साहजनक देखिएको हो । केन्द्रीय तथ्यांक विभागका अनुसार अनुकुल मौसमले गर्दा कृषि क्षेत्रको उत्पादनमा भएको बढोत्तरी, निर्माण कार्यले लिएको गति र ऊर्जा संकट समाप्तिसँगै अर्थतन्त्रमा सुधार आएको हो । कृषि क्षेत्रमा ५.२९ प्रतिशतको वृद्धि हासिल भएको छ भने गैरकृषि क्षेत्रमा ७.७४ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ । त्यसैगरी चालु मूल्यअनुसार कुल ग्रार्हस्थ्य मूल्यमा रु २२ खर्ब ९३ अर्ब ९८ करोड ९० लाख रहेको छ भने चालु मूल्यअनुसार कुल ग्रार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु २५ खर्ब ९९ अर्ब २३ करोड ४० लाख छ । चालु मूल्यमा कुल स्थिर पुँजी निर्माण राष्ट्रिय लेखा अनुमान रु आठ खर्ब ७८ अर्ब ६० करोड ५० लाख अर्थात कुल गार्हस्थ्य उत्पादनको ३३.८ प्रतिशत रहने अनुमान गरिएको छ । यो पटक कुल स्थिर पुँजी निर्माणमा वृद्धि भएको हो । जुन गत आवमा २८.८ प्रतिशत थियो । चालु मूल्यमा अन्तिम उपभोग खर्च रु २३ खर्ब ३२ अर्ब ७४ करोड १० लाख अर्थात् कुल गार्हस्थ्य उत्पादनको ८९.७५ प्रतिशत रहने अनुमान छ । त्यस्तै चालु मुल्यमा वस्तु र सेवाको कुल निर्यात सालाखाला रु आठ खर्ब ३८ अर्ब ४६ कारोड ९० लाख मात्र रहनेछ । उपभोक्ता मूल्य सूचकांक आधार वर्षमा सन् २०००/२००१ लाई आधार वर्ष मान्ने हो भने ३२४.२२ रहेको छ । विप्रेषण आयतर्फ कुल रु सात खर्ब २६ करोड ३० लाख रहेको छ जुन कुल गार्हस्थ्य उत्पादन २६.९४ प्रतिशत हुन आउँछ । प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा रु ९० हजार ५२१ अर्थात ८५३ अमेरिकी डलर हासिल भएको छ । कृषि क्षेत्रमा आएको सुधारका कारणले, सरकारले मल बिउ, प्राविधिक सहायता र सिँचाइ पु¥याएकाले पनि यो परिणाम आएको केन्द्रीय तथ्यांक विभागको दाबी छ । चालु आवको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले २९.३९ प्रतिशत तथा गैरकृषि क्षेत्रले ७०.६३ प्रतिशतको योगदान भएको अनुमान गरिएको छ । त्यसैगरी यस आवमा २८.८९ प्रतिशत योगदान रहेको कृषि तथा वन क्षेत्रमा ५.२५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । विसं २०२१/२२ देखि निरन्तर कुल गार्हस्थ्य उत्पादनको अनुमान गर्दै आइएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०७४