रोल्पा । रोल्पाको एक स्थानीय सरकारले सुन चालेर स्वरोजार बन्ने योजनाका लागि अनौठो प्रस्ताव अघि सारेको छ । सो प्रस्ताव गाउँपरिषद्बाट पारितसमेत भई यसै वर्षदेखि कार्यान्वयन हुने भएको छ ।
जिल्लाको सुनिल स्मृति गाउँपालिकाले सुन चालेर युवायुवतीलाई स्वरोजगार बनाउने उद्देश्यले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाले जनाएको छ । उक्त योजना कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले बताए ।
गाउँपालिका भएर बग्ने लुंग्री नदीमा विगतदेखि सुन खोज्ने परम्परा थियो । सुनछहरी झरना रहेको स्थानमा सुनखानी रहेकाले सो झरना लुंग्री नदीमा मिसिने भएका कारण स्थानीयबासीले लामो समयदेखि सुन चाल्ने काम गर्दै आएका थिए ।
बालुवामा सुनका कणहरुसमेत भेटिने गरेकाले त्यहाँ आश्रित युवायुवतीलाई गाउँपालिकाको तर्फबाट स्वरोजगार बनाउन यस्तो योजना अघि सारेको गाउँपालिकाले बताएको छ ।
सो नदी आसपासको क्षेत्र मगर बाहुल्य क्षेत्र भएकाले उक्त नदीलाई पछि लुङरी भन्न थालिएको बताइन्छ । मगर भाषामा लुङ भनेको ढुंगा र री भनेको पानी अर्थात् ढुंगाबाट पानी बग्ने भएकाले लुङरी भनिएको मगर भाषाका जानकारहरु बताउँछन् ।
नेपाल सरकारको अनुमति लिएर चीनको एक कम्पनीले गरेको अनुसन्धानका क्रममा समेत सो झरनामा सुनखानी रहेको प्रतिवेदन बुझाएको स्थानीयवासीले जानकारी दिए ।
सुनछहरी गाउँपालिका र सुनिल स्मृति गाउँपालिका भएर उक्त नदी बग्ने गर्दछ । ती दुई गाउँपालिकाको हार्जङ, स्युरी, जैमाकसला, फगाम र मिझिङका स्थानीयवासीले लामो समयदेखि सुन चाल्दै आएका छन् । त्यसरी सुन चाल्ने पेसा अँगाल्दै आएकाहरुलाई सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले यस वर्ष सुन चालेर स्वरोजगार बन्ने योजना अघि सारेको सुनिल स्मृति गाउँपालिका–४ का वडाध्यक्ष गङ्ज क्षेत्रीले जानकारी दिए । रासस
प्रकाशित मिति: आइतबार, साउन २६, २०७६