काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ ।
मंगलबार रातिबाट लागू हुनेगरी निगमले ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको हो ।
नयाँ मुल्य अनुसार उपभोक्ताले एक सिलिन्डर ग्यासका लागि एक हजार तीन सय ७५ रुपैयाँ तिर्नुपर्ने छ ।
यसैगरी पेट्रोलमा प्रतिलिटर एक र डिजेल तथा मट्टितेलमा ५० पैसा मूल्य बढेको छ ।
नयाँ मूल्यअनुसार पेट्रोल एक सय नौ रुपैयाँ रुपैयाँ प्रतिलिटर र डिजेल र मट्टितेल ९७ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।
हवाई इन्धनका खुद्रा बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा एलपी ग्यासमा करिब छ अर्ब रुपैयाँ नोक्सानी ब्यहोरेको निगमले अहिलेसम्म स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न सकेको थिएन ।
मूल्य समायोजनपछि पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलकोे तुलनामा पेट्रोल र डिजेलमा प्रतिलिटर क्रमशः १४ रुपैयाँ ३७ पैसा र १५ रुपैयाँ ४७ पैसा सस्तो रहेको निगमले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २२, २०७६