साताको दोस्रो कारोबार दिन नेप्से सूचक ५ अंकले सुधार हुँदै १२५४.५६ विन्दुमा पुगेको छ। आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि १.७१ अंकले बढेको छ।
कुल १ सय ७० कम्पनीको कारोबार भएको दिन सेयरबजारमा आज २९ लाख ७३ हजार कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज ४ हजार ९ सय ५ पटक कारोबार भएको हो।
आइतबारको तुलनामा सोमबार कारोबार रकममा पनि सुधार देखिएको छ। आज ४३ करोडको सेयर कारोबार भएको हो। नेप्सेका अनुसार आज सबै समूहको सूचक उकालो लागेको छ। सबैभन्दा बढी उत्पादन, होटल र जीवन बीमाको कारोबार बढेको छ।
सेयर कारोबारको हिसाबले नेपाल बैंक लिमिटेडको ५ करोड २१ लाख ९१ हजारको कारोबार हुँदा शिवम् सिमेन्टको पनि ३ करोड ५९ लाखको सेयर खरिदबिक्री भएको छ। शिवम् सिमेन्टको प्रतिकित्ता ६ सय ७ रुपैयाँमा कारोबार भएको हो। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रोमोटर सेयरको २ करोड ५४ लाखको, नबिल बैंकको २ करोड ४८ लाखको, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ३३ लाखको, एनआईसी एसिया बैंकको २ करोड ६ लाखको सेयर कारोबार भएको छ।
कमाइका हिसाबले आज सबैभन्दा बढी स्वदेशी लघुवित्त वित्तीय संस्था अगाडि छ। यसका लगानीकर्ताले प्रतिकित्ता २७ रुपैयाँ कमाएका छन्। त्यस्तै, एनआईसी एसिया ग्रोथ फन्डका लगानीकर्ताले ४.८१ प्रतिशत, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनीले ४.६३ प्रतिशत, रिलायन्स फाइनान्स लिमिटेडका सेयरधनीले ४.१३ प्रतिशत कमाएका छन्।
गुमाउनेमा भने नबिल बैंकका लगानीकर्ता परेका छन्। यसका सेयरधनीले २६ रुपैयाँ प्रतिकित्ता गुमाएका छन्। त्यस्तै, मल्टिपर्पोस फाइनान्स कम्पनीका लगानीकर्ताले २.४६ प्रतिशत, घलेम्दी हाइड्रो लिमिटेडका सेयरधनीले २.३० प्रतिशत गुमाएको नेप्सेले जनाएको छ
प्रकाशित मिति: सोमबार, असार ३०, २०७६