काठमाडौं : ग्लोबल आइएमइ बैंकको ६ लाख कित्ता संस्थापक ‘प्रोमोटर’ शेयर कारोबार भएको छ। दोस्रो बजारमा प्रति कित्ता १ सय ७३ रुपैयाँको दरमा १० करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ। बैंक भित्रकै एक संस्थागत लगानीकर्ताले अर्को संस्थागत लगानीकर्तालाई शेयर बिक्री गरिएको हो।
हाल कायम दोस्रो शेयरधनी वर्डवाइड इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडले ६ लाख कित्ता शेयर खरिद गरेको हो। वर्डवाइडको यस अगाडि ५.४८ प्रतिशत हिस्सा शेयर रहेको थियो। ६ लाख कित्ता शेयर थपिएसँगै वर्डवाइडको हिस्सा ६.०६ प्रतिशत पुग्नेछ।
आइतबार ५, ४ र ४२ नम्बर ब्रोकरबाट बिक्री भएको छ भने ४२ नम्बर ब्रोकरबाट खरिद भएको छ। आजको कारोबार हाल भैरहेका संस्थापक शेयरधनीहरु विचमा कारोबार भएको हो।
संस्थापक शेयर कारोबार गर्दा सबैभन्दा पहिले हाल भैरहेका संस्थापकहरुको पहिलो अधिकार रहन्छ। कायम संस्थापक शेयरधनीहरुले शेयर खरिद नगरेमा मात्रै बाहिरि संस्थापक शेयरधनीहरुको लागि आह्वान गरिन्छ।
प्रकाशित मिति: आइतबार, असार १५, २०७६