धनुषा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले राष्ट्र निर्माणमा इमान्दार भएर लाग्न निर्माण व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । धनुषाको जनकपुरमा आज त्यसक्षेत्रका सम्पूर्ण निर्माण व्यवसायीहरु संग साक्षात्कार गर्दै मन्त्री महासेठले निर्माण व्यवसायीहरुका समस्या समाधानमा सरकार सचेत रहेको बताउदै व्यवसायीहरु पनि मुलुकप्रति इमान्दार भएर प्रस्तुत हुन आग्रह गर्नुभएको हो ।
प्रदेश नम्बरको दुईको राजधानी जनकपुर र त्यस आसपासका क्षेत्रमा निर्माण व्यवसायको क्षेत्रमा क्रियासिल रहेका सबैजसो निर्माण व्यवसायीहरु सहभागी सो कार्यक्रममा मन्त्री महासेठले भन्नु भयो “तपाईहरुका समस्या के हुन त्यसबारे खुलेर भन्नुहोस, हामी तपाईहरुका समस्या समाधानमा पनि सचेत छौँ तर विकास निर्माणको काम तपाईहरुले गर्ने हो तपाईहरु जवसम्म इमान्दार बन्नु हुन्न मुलुक बन्दैन”।
सरकारलाई असफल बनाउन अनेकन अफवाहहरु फैलाइएको बताउदै मन्त्री महासेठले कुनैपनि हल्ला र अफवाहका पछि नलागी इमान्दार भएर काममा लाग्न सबै संग आग्रह समेत गर्नुभयो । सरकारको ध्यान सम्बृद्ध नेपाल निर्माणमा रहेकाले त्यस अभियानमा सहभागी हुन उहाँले आग्रह गर्नुभयो ।
आजै मन्त्री महासेठले राष्ट्रिय बृक्षारोपण दिवसको उपलक्ष्यमा आफ्नै निर्वाचन क्षेत्रमा बृक्षारोपण पनि गर्नुभयो । यस्तै जिल्लाको वटेरश्वर गाउपालिकामा राजापा छोडी नेकपा प्रवेश गरेका कार्यकर्तालाई नेकपामा स्वागत गर्नुभएको छ । राजपाको तर्फबाट सो गाउपालिकाको अध्यक्षका उम्मेदवार रामपुकार महतो सहित ३५ बढि कार्यकर्तालाई मन्त्री महासेठले नेकपा प्रवेश गराउनु भएको छ ।
यस्तै मन्त्री महासेठको सचिवालयले यसअघि उहाँले रसायली परिवारको घर निर्माण गरिदिने भनि गरेको घोषणा बमोजिम निर्माण भईरहेको घरको अवलोकन समेत गरेको छ । मन्त्रीका नीजी सचिव कीरण कार्कीले रसायली परिवारको निर्माणाधिन घरको अवलोकन गरेका हुन ।



प्रकाशित मिति: आइतबार, असार १५, २०७६