काठमाडौं : कैलालीको धनगढी उप–महानगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ को बार्षिक नीति तथा कार्यक्रम मार्फत १ अर्ब ४८ करोड ४ लाख ४८ हजार बराबरको बजेट नगरसभामा पेश गरेको छ ।
उप–महानगरपालिकाकी उप–प्रमुख सुशिला मिश्र भट्टले आइतबार नगरसभामा पेश गरेको बजेटमा चालुतर्फ ७६ करोड ३६ लाख ४२ हजार १६६ रुपियाँ ३८ पैँसा र पुँजीगत तर्फ ८१ करोड, ६८ लाख ५ हजार ८ सय ३३ रुपियाँ ६२ पैशा रहेको छ ।
उपमहानगरपालिकाले बजेट तथा कार्यक्रम मार्फत सुधारीएको सडक, कृषीमा आधुनिकिकरण तथा ब्यावसायीकरण,शिक्षा क्षेत्रमा गुणस्तर ल्याउने, गुणस्तर तथा सर्वसुलभ स्वास्थ्य सेवामा सुधार, सूचना प्रविधी तथा संचारमा विकास, उद्यम र सहकारीको विकास, मानव संशाधन र सामाजिक विकास लगायतका विकास पूर्वाधारका कामहरुमा जोड दिएको छ ।
यस्तै उपमहानगरपालिकाले कृषी तर्फ जैविक खेतीलाई प्रोत्साहन गर्ने, बगरखेतीलाई प्रोत्साहन गर्ने, एक घर दुई बिरुवा कार्यक्रमलाई निरन्तरता दिने, वडा नं १२ मा द्धारिका देवी कृषी अनुसन्धान केन्द्र स्थापना गर्ने लगायतका कार्यक्रम समावेश गरिएका छन् । पशु विकास तर्फ छाडा पशुचौपयामा भ्याक्सीनेशन, पशुको नस्ल सुधार, पशु विमा लगायतका कार्यक्रमहरुलाई समेटेको छ ।
निति तथा कार्यक्रममा सामाजिक विकास तर्फ वालबालिका किशोर किशोरी संग उप–मेयर कार्यक्रम, शिक्षा तर्फ असहाय र बिपन्न संग मेयर कार्यक्रम, विद्यालयको पहुँच भन्दा बाहिर रहेका बालवालिकालाई ‘झिकाउ, टिकाउ र सिकाउ” कार्यक्रम संचालन गर्ने भनिएको छ ।
उप–प्रमुख भट्टले निकै मेहेनतका साथ स्थानीयतहले अवलम्वन गर्ने सबै प्रकृया पुरा गरेर, नगरवासीका मागहरुलाई श्रोत साधनले भ्याए सम्म समेट्ने प्रयत्न गरिएको बताईन ।
प्रकाशित मिति: आइतबार, असार ८, २०७६