काठमाडौं : पछिल्लो दिनमा शेयर बजार सुस्ताउन थालेको छ। दिनदिनै बजारमा गिरावट आउन थालेपछि कारोबार रकम खुम्चिन थालेको हो।
मंगलबार नेप्से सूचक २.१० अंकले गिरावट हुँदा कारोबार रकम पनि ३५ करोड ३७ लाख रुपैयाँमा खुम्चिएको छ।
१७७ वटा कम्पनीको कारोबार हुँदा ६८ वटाको सुधार देखिएको छ भने ८९ वटाको मूल्य ओरालो झरेको छ। बाणिज्य बैंक, विकास बैंक र माइक्रोफाइनान्सको सूचकमा सामान्य सुधार देखिए पनि बाँकी सूचक ओरालो झरेका छन्।
कर्मचारी विवादले बन्द रहेको तारागाँऊ रिजेन्सीको बजार मूल्य ९ रुपैयाँले घटेको छ। बजार मूल्य घटेपनि कारोबार रकम भने सबैभन्दा धेरै ४ करोड २४ लाख रुपैयाँको भएको छ। कम्पनीको विवादको समाचार आउँदै गर्दा घटेको मूल्यमा शेयर खरिद गर्ने लगानीकर्ता हाबी भएका छन्।
तारागाऊँ होटलको शेयरका लागि एक लाख २५ हजार कित्ताको लागि माग भएको देखिन्छ भने बिक्रीको लागि ६ हजार कित्ता मात्रै छ।
सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले ६.९४ प्रतिशतले कमाएका छन् भने समता लघुवित्तका शेयरधनीहरुले ५.३८ प्रतिशतले गुमाएका छन्।
अवका केहि दिनपछि चौथो त्रैमासको लागि कर तथा व्याज भुक्तानीको दवाव पर्ने छ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६