काठमाडौं : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक बर्षको बजेट खर्च र स्रोतको सुनिश्चितताका आधारमा बनाइएकोले महत्वाकांक्षी नरहेको बताए ।
चालू आर्थिक बर्षको बचत, प्रदेश सरकारले संकलन गर्न सक्ने राजश्व र राजश्व बााडफांडमा प्रदेशले संघबाट पाउने रकमको सीमा रहेर बजेट बनाइएको मन्त्री बोहराले बताए ।
चालू आर्थिक बर्षका लागि घोषणा गरिएका आयोजनालाई निरन्तरता दिइएकाले आगामी आर्थिक बर्षको बजेटमा पूजीगत खर्च बढाउने तर्फ प्रदेश सरकारको ध्यान जाने उनले बताए ।
आइतबार प्रदेश सभामा बजेट प्रस्तुत गरिसकेपछि सोमबार प्रदेशको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बोहराले काम गर्न सकिनेगरी ३ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजनाका लागि बजेट छुट्याइएको बताए ।
मन्त्री बोहराले सबै क्षेत्रमा बजेट बिनियोजन गरिएकोले बजेट सन्तुलित रहेको जिकिर गरे । आगामी आर्थिक बर्ष सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गर्नका लागि बजेट बिनियोजन गरेको उनले बताए । सुदूरपश्चिम प्रदेशमा उद्योग स्थापना गर्न चाहनेलाई प्रदेश सरकारले जग्गा लिजमा दिने प्रावधान शुरु गर्न लागिएको मन्त्री बोहराको भनाई छ ।
पूजीगत खर्च बढ्न नसक्नुमा कर्मचारीको अभाव प्रमुख कारण रहेकोले आगामी आर्थिक बर्षमा लोकसेवा आयोगको गठन गरी प्रदेश सरकारले आफ्ना लागि आवश्यक कर्मचारी भर्ना गरी पूजीगत खर्च गर्न सक्ने क्षमता बढाइने उनले बताए ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६