काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपाललाई भेट्दै नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले १३ बुँदे सुझावपत्र पेश गरेकी छन् ।
राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि ल्याउन लागेको मौद्रिक नीतिका लागि अध्यक्ष पोखरेलले १३ बुँदे सुझाव दिएको जनाएकी हुन् । भेटमा गभर्नर डा.नेपालले उक्त मागलाई अध्ययन गरेर मौद्रिक नीतिमा समावेश गर्ने बताएको उनको भनाई छ ।
संघकी अध्यक्ष पोखरेलले सेयर धितो कर्जामा लगाइएको चर्को बैंक ब्याज घटाईन पर्ने, सेयर धितो कर्जाको सीमा ६५ प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्याउनु पर्ने, सबै लगानीकर्ताको हातमा सर्बसुलभ तरिकाले अनलाइन टेडिङ सिस्टम पुर्याउनु पर्ने सुझाव दिएकी छन् ।
यस्तै, आरडब्लुएसलाई व्यापक बनाईनु पर्ने,सेयर शिक्षा तथा तालिम जस्ता कार्यक्रमहरु देशब्यापी बनाउनेतर्फ ध्यान दिइनुपर्ने,बजेटमार्फत गैरआवासिय नेपालीलाई पूँजी बजारमा लगानी गर्ने दायरा फराकिलो बनाइन्छ भनिएको छ, त्यसलाई यथाशक्य छिटो कार्यान्वायनमा ल्याईनु लगायतका सुझाव दिएकी छन् ।
उनले सुझाव पत्रमा सेयर बजारमा महिला सहभागिता बढाउन घर जग्गा कारोबारमा जसरी छुट दिने व्यबस्था गरिनु पर्ने, पूँजीबजारमा अधिक सप्लाई रोेक्ने संयन्त्र भएन, त्यसैले बजामा रहेका ठूला–ठूला कोषहरुलाई बजार निर्माताको रुपमा भित्र्याउने व्यबस्था गर्नु पर्ने,समयमा बार्षिक साधारण सभा नगर्ने कम्पनीका संचालकहरुलाई ऐन नै संसोधन गरी कडा जरिवानाको ब्यवस्था गर्नु पर्ने लगायतका सुझाव पेश गरेकी छन् ।
प्रकाशित मिति: सोमबार, असार २, २०७६