काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि करिब २९ अर्बको बजेट ल्याउने तयारीमा रहेको जनाएको छ ।
प्रदेश सरकारले असार १ गते प्रस्तुत गर्ने बजेटमा कृषि, भौतिक पूर्वाधार, सामाजिक विकास, लक्षित वर्ग लगायतलाई प्राथमिकतामा राखेर बजेट ल्याइने आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले जानकारी दिए ।
चालू आर्थिक वर्षका लागि २५ अर्ब बराबरको बजेट ल्याएको सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्षका लागि २९ अर्बको बजेट ल्याउने अन्तिम तयारीमा छ ।
प्रदेश सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याउने वोहराको भनाइ छ । साथै वैदेशिक निर्यातलाई प्रतिस्थापन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट आउने उनको भनाइ छ । विपन्न वर्ग, भौतिक पूर्वाधार, सामाजिक विकासका क्षेत्रलाई पनि सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ ।
विगतमा संयन्त्र अभावमा बजेट खर्च गर्न नसकिएपनि अब कर्मचारी समायोजन लगायतका कुराहरू साम्य भइसकेकाले पूर्ण कार्यान्वयन हुने बजेट ल्याउने मन्त्री वोहराको दाबी छ । सरकारले विभिन्न क्षेत्रसँग बजेट वारे छलफल र परामर्श गरि रहेको उनको भनाई छ ।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६