काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद मीनेन्द्र रिजालले अर्थ मन्त्रालयले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् । बजेटमा अर्थ मन्त्रालयका लागि चालु शीर्षकमा विनियोजन भएको रकम कटौतीको प्रस्ताव प्रतिनिधिसभामा पेस गर्दै सांसद रिजालले सो कुरा बताएका हुन् ।
नेपालमा साढे ८ प्रतिशतको आर्थिक विकास आवश्यक भएको भन्दै उनले त्यसमा अर्थ मन्त्रालयले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको बताएका हुन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा रिजालले ४ करोड ८६ लाख घटाइ अघिल्लो वर्षकै बराबर राख्न प्रस्ताव गरेका हुन्। अर्थ मन्त्रालयको भूमिका ठोस योजना निर्माण गरी त्यसमा मात्र बजेट विनियोजन गर्नुपर्ने भए पनि अहिले मन्त्रालयले त्यो क्षमता देखाउन नसकेको भन्दै उनले यस्तो प्रस्ताव पेस गरेका हुन्।
आगामी आर्थिक वर्षमा चालु आर्थिक वर्षको भन्दा बढी रकम खर्च गर्नुपर्ने आवश्यकता नरहेको उनको तर्क थियो। आँखा चिम्लेर चुलाचुलामा नालीबाट ग्यास आउँछ, ग्यासको सिलिन्डर नै किन्नु पर्दैन, भन्नेजस्ता तन्द्रामा दिने अभिव्यक्तिले देशको विकास हुदैन,’ रिजालले भने, ‘तन्द्रामा बसेर नेपालमा स्टिमर मात्र नभई हिन्द महासागरसम्म गएकै वर्षमा पानीजहाज चलाउँछु भन्दैमा विकास हुँदैन।’
ठूला आयोजनामा प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नताका विषयमा टिप्पणी गर्दै उनले अब विभागीय मन्त्रालय आवश्यक नभएको टिप्पणी गरे। ‘ठूला र रणनीतिक आयोजना प्रधानमन्त्रीले प्रत्यक्ष हेर्ने हो भने किन विभागीय मन्त्रालय चाहियो,’ रिजालले प्रश्न गरे, ‘बजेट विनियोजन र स्वीकृत गर्ने अर्थ मन्त्रालय किन चाहियो?’
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६