काठमाडौं : अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालको बैंकिङ प्रणाली दक्षिण एशीयामै नमुना भएको दावी गरेका छन् । उनले नेपालको बैंकिङ प्रणाली राम्रो भएकै कारण विदेशी बैंकहरुले नेपालको बैंकलाई ऋण दिन सुरु गरेको पनि स्पष्ट पारे ।
पूँजी र निक्षेपको अनुपात मात्रै हेर्ने हो भने पनि नेपालको बैंकिङ प्रणाली दक्षिण एशीयामा सबैभन्दा राम्रो रहेको उनको भनाई छ । मंगलबार काठमाडौँको टंगालमा निक्षेप तथा कर्जा सुरक्षण कोष कार्यालय भवनको शिलान्याश गर्दै उनले निक्षेप विमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्नेमा पनि जोड दिए ।
अर्थमन्त्री खतिवडाले बैंकिङ प्रणाली राम्रो भएकाले नेपालमा वैदेशिक लगानी भित्रने सम्भावना बढेर गएको समेत बताए ।त्यस अवसरमा अर्थमन्त्री खतिवडाले निक्षेप तथा कर्जा सुरक्षण कोषलाई बलियो बनाउन आगामी आर्थिक वर्ष भित्र यसको कोष १० अरव पु¥याउने घोषणा पनि गरे ।
कोषको भवनको निर्माण कार्यको जिम्मेवारी भ्याली बाबुरत्न जेभी कम्पनीलाई दिइएको छ । यस भवनको निर्माणका लागि ६ करोड ६८ लाख ५१ हजार ३९६ रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६