काठमाडौं : नेपाल राष्ट्र बैंकले आज ४ अर्ब ९ करोड रुपैयाँको ट्रेजरी बिल निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र एक वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने जनाएको छ ।
यो ट्रेजरी २०७६ साल भदौ २४ गते परिपक्व हुनेछ । त्यस्तै, १ वर्ष अवधिका लागि जारी हुने अर्को १ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी २०७७ जेठ २७ गते परिपक्क हुनेछ । यस अघि जेठ २० गते केन्द्रीय बैंकले ५ अर्ब १३ रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो । राष्ट्र बैंकका अनुसार त्यसबेला ९१ दिनका लागि ३ अर्ब १३ करोड रुपैयाँको र एक वर्ष अवधिका लागि २ अर्ब रुपैयाँको ट्रेजरी जारी भएको थियो ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।
व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६