२७ चैत, लमजुङ । अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको छ । टिम्स चेक पोस्ट बेँसीसहरको तथ्याङ्कअनुसार मार्च महिनामा मात्रै दुई हजारभन्दा बढी विदेशी अन्नपूर्ण पदमार्गमा आएका छन् । टिम्सकी कर्मचारी मीना गुरुङले मार्च महिनामा दुई हजार ५९६ विदेशी पर्यटक लमजुङ आएको बताइन । अप्रिल लागेसँगै दैनिक १०० भन्दा बढी विदेशी पर्यटक आउने गरेको गुरुङको भनाइ छ । पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत र अमेरिकाका पर्यटक आउने गरेको बताइन्छ । अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको पनि आगमन बढेको छ । मनाङ सदरमुकाम चामेसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । पछिल्लो समय विदेशी पर्यटक जतिकै आन्तरिक पर्यटकको पनि उल्लेख्य वृद्धि हुन थालेपछि पर्यटन व्यवसायी थप उत्साहित भएका छन् । पछिल्लो समय विभिन्न क्लब, तथा सङ्घसंस्थामा आबद्ध भएकासमेत बिदा मिलाएर भए पनि अन्नपूर्ण पदमार्गमा जाने गरेका छन् ।
प्रकाशित मिति: शनिबार, चैत २६, २०७३