काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवका सडक योजनाहरू निर्माण गर्न सुरु गरेको छ । प्रदेशका सम्पूर्ण जिल्लामा एक/एक वटा मुख्य सडक निर्माण गर्ने लक्ष्य लिएको प्रदेशले सडकहरू छनोट गरी काम थालेको हो ।
प्रदेशले सडक योजनाको छनोट गरी तिनको विस्तृत अध्ययन तथा सर्वेक्षणको काम थालिएको बताइएको छ ।
प्रदेश सरकारको आगामी अर्थिक वर्ष २०७६/०७७ नीति तथा कार्यक्रम अनुरुप नागरिकहरूको आवागमनलाई सहज र जीवनस्तरमा सुधार ल्याउन सडक योजना निर्माण थालेको हो । सरकारको छनोटमा परेका सडक योजनाहरू निर्माण हुन सके प्रदेशको मुहार फेरिन सक्ने अनुमान गर्न सकिन्छ ।
कुन-कुन सडक परे त छनोटमा ?
छनोट भएका प्रदेशका गौरवका सडक योजनामा खप्तड-मार्तडी सडक (बाजुरा), सदबाँज-श्रीभाबर-हाट दार्चुला सडक (बैतडी), चिसापानी-ऋषिदह-बडिमालिका सडक (अछाम), दैजीपोखरा-ढुङ्गाड-बझाङ सडक (डडेलधुरा), देथला-खार-खलङ्गा-खण्डेश्वरी सडक (दार्चुला), दिपायल-साइपाल सडक (बझाङ), सहजपुर-बोगटान-दीपायल सडक (डोटी), भजनी-छोटीभन्सार-खेमडी-ठूलीगाड सडक छन् ।
सुदूरपश्चिम प्रदेश पूर्वाधार विकास निर्देशनालयका निर्देशक प्रेमदत्त भट्टले नौ वटा गौरवका सडक योजनाका लागि चालू वर्षमा चार करोड ५० लाख बजेट विनियोजन गरिएकामा सो बजेट रकमबाट सडकको सर्वेक्षण र अध्ययनको काम भएको जानकारी दिए ।
चालू वर्षमा बाजुरा, अछाम, बैतडी र दार्चुलामा छनोट भएको प्रदेशका गौरवका सडक योजनाको ट्र्याक खन्ने काम सुरु भइरहेको जनाइएको छ । चालू वर्षमा पर्याप्त बजेट अभावमा राम्रोसँग काम हुन नसकेको तर आगामी आर्थिक वर्षमा यी गौरवका सडकको निर्माणका लागि बहुवर्षीय ठेक्का आह्वान गर्न लागिएको जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६