काठमाडौं : अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले मानव पुँजी निर्माण गर्नु पहिलो प्राथमिकता भएको बताएका छन् । उनले सरकारले मानव पुँजी निर्माण र विकास निर्माणका काममा त्यसका अधिकतम प्रयोगको विषयलाई सबैभन्दा बढी प्राथमिकतामा राखेको बताएका हुन् ।
विश्व बैंकले काठमाडौंमा आयोजना गरेको ‘ह्युमन क्यापिटल फोरम प्रोग्राम’मा बोल्दै अर्थमन्त्री खतिवडाले सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटका प्राथमिकता निर्धारण गर्दा मानव पूँजीमा लगानी गर्ने विषयलाई पहिलो नम्बरमा राखेको बताएका हुन्।
ठूलो अंकको आर्थिक वृद्धिको लक्ष्य राखेको सरकारले छोटो समयका लागि मात्र नभई दिगो विकासका लक्ष्य प्राप्तिसम्मका दिर्घकालीन रणनीतिको उद्देश्य प्राप्तिका लागि दक्ष र सक्षम मानव संशाधन निर्माण एवं त्यसको अधिकतम प्रयोगलाई सरकारले आफ्नो प्राथमिकतामा राखेको उनको भनाइ छ।
सरकारले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट १६ प्रतिशतले बढेकोमा शिक्षा, स्वास्थ्य र रोजगार क्षेत्रको बजेट २२ प्रतिशतसम्म बढेको भन्दै अर्थमन्त्री खतिवडाले विकासका पर्याय र साधनका रुपमा दक्ष जनशक्तिको निर्माण तथा आवश्यक मानव पुँजी निर्माणको विषयलाई लिएको बताएका छन्।
प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६