काठमाडौं : सोमबारको शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । शेयर बजारमा गिरावट आए सँगै कारोबार रकम समेत खुम्चिएको छ ।
सोमबार नेप्से सूचक १२.८४ अंकले घटेर १२९२.८४ अंकमा झरेको छ । यो साताको दुई दिनमा कारोबारमा नेप्से सूचका २३ अंक बढीको गिरावट आएको छ ।
नेप्से सूचक घटेसँगै कारोबार रकम पनि ६९ करोड ८७ लाख रुपैयाँमा खुम्चिएको छ। आइतबार शेयर बजारमा १३ अंकले गिरावट हुँदा ७५ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो । १ सय ७१ वटा कम्पनीको कारोबार हुँदा १२९ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ भने २३ वटाको मात्र बढेको छ।
शेयर मूल्य बढ्नेमा अधिकांस साना कम्पनीहरु देखिएका छन् । तारा गाँउ रेजन्सी होटलको शेयर मूल्य सबैभन्दा धेरै साढे सात प्रतिशतले उकालो लागेको छ । गुराँस लघुवित्त, कन्काई विकास बैंक, रिलायन्स फाइनान्स, मल्टिपर्रपोज फाइनान्स, सिन्धु विकास तथा कणाली विकास बैंक लगायत २३ कम्पनीको मात्र शेयर मूल्य बढेको छ ।
बजेट अगावै बढेको बजारमा अल्पकालिन नाफा बुक गर्नेहरु सक्रिय हुँदा शेयर बिक्रीको चापले बजार ओरालो लागेको हो । जसले गर्दा कारोबारमा आएका सबै समूहका सूचक राताम्मे बनेका छन् ।
यस दिन सबैभन्दा धेरै एनआइसी एशिया बैंकको ९ करोड रुपैयाँको कारोबार भएको छ । दोस्रोमा शिवम् सिमेन्टको ६ करोड रुपैयाँको कारोबार भएको छ।
प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६