काठमाडौं : बजारमा मदिरा तथा अन्य सुर्तिजन्य पदार्थको मूल्यमा वृद्धि भएको छ । आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले मदिरा तथा अन्य सुर्तिजन्य पदार्थको मूल्यवृद्धि गर्ने बताएसँगै बजारमा पनि मदिराको मूल्यमा वृद्धि भएको हो ।
जेठ १५ गते संसद भवनमा आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. खतिवडाले मदिरा‚ चुरोट‚ अन्य सूर्तिजन्य पदार्थ र स्वास्थ्यका लागि हानिकारक वस्तुहरुमा लाग्दै आएको भन्सार तथा अन्तःशुल्क दरमा वृद्धि गर्ने बताएका थिए ।
मदिरा तथा सुर्तिजन्य पदार्थ सेवन गर्नेहरुलाई निरुत्साहित गर्न अर्थमन्त्री खतिवडाले मदिरामा चर्को अन्तःशुल्क लगाएको बताइएको छ ।
आयातित मदिराको हकमा उल्लेखित दरबन्दीमा तोकिएको अल्कोहलको मात्रामा १ प्रतिशतभन्दा बढी फरक भएमा नजिकको उच्चदरको दरबन्दी अनुसार अन्तःशुल्क लगाई असूल उपर गरिने आर्थिक विधेयकमा उल्लेख छ ।
सरकारले स्वेदशी फलफूलको प्रयोग गरी स्वदेशमा उत्पादित मदिरामा भने आयातित मदिराभन्दा निकै कम अन्तःशुल्क लगाएको छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न सरकारले यस्तो नीति अबलम्बन गरेको बताइएको हो ।
नेपालमा २५,३०,४०,५० र ७० यु.पि.शक्तिका मदिराहरु उत्पादन गर्ने गरिन्छ । सरकारले हरेक वर्ष मदिरामा लाग्ने अन्तःशुल्क बढाउँदै आएपनि मदिरा तथा सुर्तिजन्य पदार्थ सेवन गर्नेहरुको संख्या भने घट्न सकेको छैन ।
कति बढ्यो त मदिराको मूल्य ?
यस वर्ष सरकारले मदिराको प्रति लिटर १५ सय ६० रुपैयाँसम्म अन्तःशुल्क लगाएको छ । वर्षेनी मदिरामा हुने शुल्क बृद्धिका कारण बजारमा पनि मदिराको भाउ उच्च हुने गरेको छ ।
सरकारले मदिराको शक्ति र अल्कोहलको मात्राका आधारमा अन्तशुल्क तोकिएको जनाएको छ ।
सरकारले १५ युपि शक्ति ४८.५ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिरामका प्रतिलिटर १३ सय २५ र प्रतिएलपि लिटर १५ सय ६० रुपैयाँ शुल्क तोकेको छ ।
यस्तै ३० युपी शक्तिको ३९.९४ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिरामा प्रतिलिटर ९२०, एलपि लिटर १३ सय २५ रुपैयाँ,१७ प्रतिशतभन्दा माथि अल्लोहल भएको मदिरामा प्रतिलिटर ४३० रुपैयाँ, १७ प्रतिशतसम्म अल्कोहल भएको मदिरामा प्रतिलिटर ३७० रुपैयाँ मूल्य तोकेको छ ।
अल्कोहलरहित बियरमा प्रतिलिटर १७ रुपैयाँ र १५ युपी शक्ति र ४८.५ प्रतिशत अल्कोहलको मात्रा भएको मदिरामा प्रतिएलपी लिटर १५ सय ६० रुपैयाँसम्म अन्तःशुल्क तोकिएकोछ ।
सरकारले स्वदेशमा उत्पादिन फलफूलबाट बनेको १२ प्रतिशतसम्म अल्कोहलको मात्रा भएको वाइनमा प्रतिटिलर १३५ रुपैयाँ, स्वदेशमा उत्पादिन साइडरमा प्रतिलिटर १८० रुपैयाँ अन्त:शुल्क तोकेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६