काठमाडौं : पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसेका नेता डा. रामशरण महतले सरकारले ल्याएको बजेट बढी प्रचारमुखी भएको बताएका छन् ।
बिहीबार राजधानीमा आयोजित बजेट समीक्षा कार्यक्रममा बोल्दै नेता महतले यो सरकारले ल्याएको बजेट संघीयमुखी, बढी प्रचारमुखी र निहीत लोकप्रियता कमाउन ल्याए जस्तो गरेको आरोप लगाए ।
पूर्वअर्थमन्त्री महतले भने, ‘यो बजेट राष्ट्रलाई बोझ र भावी पुस्तालाई ऋणको बोझ बढाउने खालको छ ।’ वितरणमुखी बजेटले आगामी पुस्तालाई ऋणको भार बढाउने उल्लेख गर्दै महतले रेल र पानीजहाजभन्दा पनि दुर्गम ठाउँमा पनि बाह्रै महिना गाडी चल्ने वातावरण सिर्जना गर्नु पर्ने बताए ।
डा. महतले सासंदहरुले सरकारको ढुकुटीको बजेटबाट लोकप्रिय हुने नाममा आफ्नो र आफ्नो पदको नाम जोडेर कार्यक्रम ल्याउने गरेको बताए । यो प्रवृति केन्द्र हुँदै प्रदेश र स्थानीय तहसम्म पुगेको आरोप लगाए ।
कार्यक्रममा बोल्दै पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बजेटको आकार ठीकै भए पनि कार्यान्वयन गर्न भने चुनौती रहेको बताए । उनले चालु आर्थिक वर्षको बजेट राम्रोसँग खर्च नभएको बताउँदै आगामी वर्षको बजेट कार्यान्वयनमा पनि शंका गर्नुपर्ने ठाउँ रहेको उल्लेख गरे ।
अर्थविद् नरबहादुर थापाले अहिले चर्चामा आएको बजेट कार्यान्वयनमा चुनौती रहेको बताउँदै पुराना किताबहरु पढेर मात्र बजेट निर्माण गरेको तर आफ्ना धारणा र देशको वर्तमान माग र आवश्यकता नहेरेर बजेट ल्याएको आरोप लगाए ।
कार्यक्रममा बोल्दै वक्ताहरुले सरकारले प्रस्तुत गरेको बजेटको आकार सही भए पनि बढी प्रचारमुखी र निहित लोकप्रियताका लागि भएको औंल्याएका थिए ।
अर्थमन्त्री डा.युवराज खतिवडाले बुधबार संसदमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट पेस गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६