विराटनगर : एक नम्बर प्रदेशमा विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिसहितको पूर्वबजेट सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पारित भएको छ ।
मंगलबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश नम्बर १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ११८ को उपनियम २ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो प्रस्ताव सदनमा पेस गरेका थिए ।
प्रस्तुत विषयमा प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद घिमिरेले ५५ वटा बुँदामा उल्लेखित प्रस्तावलाई निर्माण र रोजगारमुखी बनाउनुपर्ने सुझाव दिए । उनले लक्षित वर्गमा बजेटलाई पु¥याउन कृषि, पर्यटन, औद्योगिक क्षेत्र, विद्यालय र मानव बस्तीसम्म पुग्ने योजना ठोसरुपमा आउनुपर्ने सुझाव दिए ।
प्रदेशसभा सदस्य कुलप्रसाद साम्बाले प्रस्ताव राम्रो भएको र यसको कार्यान्वयन पक्षमा विशेष ध्यान दिनुपर्ने औँल्याए । प्रदेशसभा सदस्य खिनुलाम्वा लिम्बूले बजेट गरिबी उन्मूलनमा केन्द्रित रहनुपर्ने र यसका लागि विशेष र संरक्षित क्षेत्र घोषणा गरेर काम गर्नुपर्ने कुरामा जोड दिए ।
सदस्य झलकबहादुर मगरले प्राथमिकतामा रहेका क्षेत्रलाई परिणाममुखी बनाउन बजेटले बोल्नुपर्ने भन्दै बजेटमा रोजगारी सिर्जना र जनता आवास कार्यक्रम आउनुपर्ने माग गरे । सदस्य नारायणबाबु मगरले बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा एक विशेष कार्यक्रम ल्याउनुपर्ने, सर्पदंशको उपचारको व्यवस्था हुनुपर्ने र भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न बजेटले व्यवस्था गर्नुपर्ने माग गरे ।
सदस्य विद्यानन्द चौधरीले चालू आर्थिक वर्षको विकास बजेट २५ प्रतिशत पनि खर्च नभएकाले बजेट हिमाल, पहाड र तराईलाई प्राथमिकतामा राखेर आउनुपर्ने सुझाव दिए ।
सदस्य विमल कार्कीले बजेटको सिद्धान्त र प्राथमिकता माथि प्रकाश पार्दै संसद् विकास कोषलाई रु पाँच करोड बनाउन माग गरे ।
सदस्य सञ्जाकुमारी दनुवार, सर्वध्वज साँवा, सावित्राकुमारी रेग्मी र सूयर्माराज राईले छलफलमा आएका रचनात्मक सुझावलाई प्रदेश सरकारले ग्रहण गर्न सके आउने बजेटले राम्रो परिणाम दिने टिप्पणी गरे । –रासस
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६