काठमाडौं : साताको तेस्रो कारोबारका दिन मंगलबार शेयर कारोबार मापक अंक २.५३ अंकले बढेको छ । पहिलो कारोबार दिन घटेको शेयर बजार दोस्रो दिन केही थामिएकामा तेस्रो दिन पनि सामान्य अंकको मात्रै वृद्धि देखिएको हो ।
आज कुल १६४ वटा कम्पनीको मात्रै कारोबार भएको छ । उक्त कम्पनीका २४ लाख कित्ता शेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम हिजोको तुलनामा केही बढेको छ । आज कारोबार रकम ७५ करोड ६८ लाख रुपैयाँ रहेको छ ।
कुल ११ समूहको कारोबार भएकामा वाणिज्य बैंक, विकास बैंक, ऊर्जा, फाइनान्स, उत्पादन र म्युचुअल फन्डको कारोबार सूचक हरियो हुँदा जीवन बीमा, अन्य, माइक्रोफाइनान्स, निर्जीवन बीमा र होटल समूहको सूचक रातो छ ।
शेयर कारोबारको दृष्टिले आज शिवम् सिमेन्टको १६ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । कम्पनीको प्रति शेयर मूल्य ६४६ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, धेरै कारोबार हुनेमा प्रभु बैंक, नेपाल बैंक, माथिल्लो तामाकोसी क्रमशः रहेका छन् ।
कमाउनेमा भने आज ज्योति विकास बैंक अगाडि छ । यसका शेयरधनीले प्रति शेयर १५ रुपैयाँ आम्दानी गरेका छन् । कम्पनीको शेयर मूल्य १६५ रुपैयाँ रहेको छ । यसपछि आज रिलायन्स फाइनान्सका शेयरधनीले पनि प्रति शेयर १२ रुपैयाँ आम्दानी गरेका छन् । कम्पनीको शेयर मूल्य १३३ रुपैयाँ रहेको छ ।
तेस्रो स्थानमा भने शिवम् सिमेन्टका लगानीकर्ता रहेका छन् । उनीहरूले आज प्रति शेयर ५८ रुपैयाँ आम्दानी गरेका छन् । कम्पनीको प्रति शेयर मूल्य ६४६ रुपैयाँ पुगेको छ।
प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६