काठमाडौं : भूकम्पका कारण क्षतिग्रस्त त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको पुनःनिर्माण कार्य २० प्रतिशत मात्र बाँकी छ ।
सरकारकाे आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले निर्माणाधीन दशरथ रंगशालाको ८० प्रतिशत काम सम्पन्न भइसकेकाे उल्लेख गरेका हुन् ।
अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्मा पेस गरेको उक्त आर्थिक सर्वेक्षणअनुसार चालू आवमा सातदोबाटोस्थित पौडी पोखरी र सुटिङ हलको निर्माण सम्पन्न भएको छ । त्यस्तै काठमाडौंको मूलपानीसहित देशको आठ स्थानमा क्रिकेट रंगशाला तथा मैदान निर्माणाधीन रहेकामा कीर्तिपुर, भैरहवा, लमही, कोहलपुर र कञ्चनपुरको क्रिकेट मैदान खेल्न योग्य भएको उल्लेख छ ।
उच्च धरातलीय खेलकूद प्रशिक्षण केन्द्र स्थापनाका लागि लुक्ला, जुम्ला, खप्तड, घान्द्रुक र बाग्लुङमा सम्भाव्यता अध्ययन थालिने छ । मनाङमा उच्च धरातलीय खेलकूद प्रशिक्षण केन्द्र स्थापनाका लागि निर्माण जारी छ ।
इन्डोनेसियामा सम्पन्न १८आँै एसियाली खेलकुद प्रतियोगितामा नेपालले प्याराग्लाइडिङमा रजत पदक प्राप्त गरेको थियो । त्यस्तै थाइल्यान्डमा सम्पन्न विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालका बडी विल्डर महेश्वर महर्जनले स्वर्ण पदक जितेका थिए । सो वापत उनलाई सरकारले पाँच लाख पुरस्कार प्रदान गरेको थियो ।
लामो समयसम्म स्थगित भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता गत वैशाखमा सम्पन्न भयो । उक्त प्रतियोगितामा नेपाली सेना पहिलो, नेपाल प्रहरी दोस्रो तथा सशस्त्र प्रहरी बल (एपिएफ) तेस्रो भएको थियो । विराटनगरमा महिला दक्षिण एसियाली फुटबल च्याम्पियनसिप र काठमाडौंमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप सम्पन्न भएको उल्लेख छ । –रासस
प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६