काठमाडौं : मुटुको भल्भमा समस्या देखिएपछि दाङ देउखुरीका एक युवाले उपचारका लागि आर्थिक सहयोग गरिदिन याचना गरेका छन् ।
दाङ गढवा- ३, धैरेनी स्थायी घर भएका २१ वर्षीय विशाल परियारले उपचारका लागि आर्थिक सहयोग गरिदिन अनुरोध गरेका हुन् । लाऊँलाऊँ र खाऊँखाऊँको उमेरमा श्वासप्रश्वासमा समेत समस्याका कारण उनलाई हिँडडुल गर्न मात्र होइन बस्न र खानसमेत अप्ठ्यारो भएको छ ।
समस्या बढ्दै गएपछि उनी मुटुको शल्यक्रियाका लागी काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना भएका छन् । एकाएक श्वास बढेर खाना चपाउनसमेत नसकेपछि उनले एक सातादेखि खाना खान सकेका छैनन् । रकमको अभावले शल्यक्रियाको काम अगाडि बढ्न नसकेको विशालका आफन्त विनोदकुमार दमाईंले बताए ।
सरकारले मुटु रोगको उपचारमा एक लाख रुपैयाँसम्म छुट दिने गरेको भए पनि शल्यक्रियाका लागि आवश्यक औषधि र अन्य सामान किन्दा ५० हजार रुपैयाँ बढी खर्च लाग्ने र त्यति पैसाको जोहो गर्न आफूहरूलाई निकै संकट परेको विनोदले बताए । विशालका दुई दाजु पहिले नै परिवारवाट अलग भएर बसेका र बाबुआमा वृद्ध अवस्थामा रहेका हुनाले उनको परिवारलाई ५० हजार रुपैयाँ जुटाउन हम्मेहम्मे परेको छ ।
२१ वर्षका विशाल मजदुरी गरेर कमाउन सक्ने उमेर भए पनी श्वास्थ्यका कारण थलिएर अस्पतालको बेडमा सुतिरहेका छन् । बेच्नका लागि उनीसँग ऐलानी जग्गामा बनाएको सानो खरले छाएको झुपडीबाहेक कुनै जग्गा जमिन छैन । मनकारी व्यक्तिको सानो सहयोगले विशालले नयाँ जीवन पाउने आशा परिवारको छ ।
सहयोगका लागि विनोदकुमार दमाईंको नाममा रहेको एनआइसी एसिया बैंकको खाता नम्बर २८९७६५८८१८५२४०१ मा रकम जम्मा गरिदिन सकिने जानकारी विनोदले दिए । साथै मोवाइल नम्बर ९८२२९०२०२५ मा सम्पर्क गर्न पनि सकिनेछ ।
प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६