काठमाडौं : सेयर खरिद गर्दा खाताबाटै राफसाफ हुने सेवा सञ्चालनमा आएको छ । नेपाल स्टक एक्सचेन्जको अनलाइन सेयर कारोबार प्रणालीमा आवद्ध यो सुविधा आइतबारबाट सुरु गरेको हो ।
यो सँगै सेयर खरिदपछि लगानीकर्ताले चेक बोकेर ब्रोकर कार्यालय जाने झन्झटबाट मुक्ति पाउने भएका जनाइएको छ । नेपाल क्लियरिङ हाउसको ‘कनेक्ट आइपीएस’ मा हाल आवद्ध ४८ बैंक तथा वित्तीय संस्थाहरुमा खाता भएका लगानीकर्ताले अनलाइनबाटै राफसाफ गर्नसक्ने जनाएको छ ।
यस्तै, आइतबारबाट थप २ वाणिज्य बैंकले कनेक्ट आइपीएसमा सदस्य बन्ने प्रक्रिया सुरु गरेका छन् । यी सबै बैंकमा खाता भएका अनलाइन प्रयोगकर्ताले सेयर खरिद गरे वापतको रकम अनलाइनबाटै भुक्तानी गर्न सक्ने क्लियरिङ हाउसले जानकारी गराएको छ ।
नेपाल क्लियरिङ हाउसका अनुसार हाललाई सेयर खरिद गर्दा मात्र अनलाइनबाट भुक्तानी गर्न सकिने छ । दोस्रो चरणमा सेयर बिक्री बपत प्राप्त रकम पनि खातामै जम्मा हुने व्यवस्था मिलाइनेछ ।
आगामी दिनमा कटेक्ट आइपीएसमा जोडिने बैंक तथा वित्तीय संस्थाको संख्या पनि बढ्न सक्ने क्लियारिङ हाउसले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६