काठमाडौं : इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमबार (जेठ १३) देखि खुल्ने भएको छ । संस्थाको आईपीओ खुल्ला भए सँगै ६ लाख ४० हजार ३०० कित्ता आईपीओ बिक्री गर्ने जनाएको छ । यसमध्ये १० हजार ३७० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ ।
बाँकी ६ लाख २९ हजार ९ सय ३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने जनाएको छ । कम्पनीले कुल ६ लाख ७४ हजार कित्ता सेयरमध्ये ३३ हजार ७०० कित्ता म्युचुअल फन्डहरुलाई बाँडफाँट गरी बाँकी रहेको सेयर कर्मचारी र सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ३७० कित्ताका लागि आवेदन दिन पाउने बताइएको छ ।
कम्पनीले जारी पुँजी २० करोड ७४ लाख रुपैयाँको ३२.५५ रकम बराबरको सेयर बिक्री गर्न लागेको हो । इन्फिनिटीको आईपीओ जेठ १६ गतेसम्म भर्न सकिनेछ ।
यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने असार १० गतेसम्म भर्न सकिनेछ । यो आईपीओले औसत भन्दा तल जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ पाएको छ । यसमा सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ ।
इन्फिनिटीले प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको अन्त्यसम्म १८ रुपैयाँ र आगामी वर्ष २७ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । चालु आवको अन्त्यसम्ममा यसको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ४८ पैसा र आगामी वर्ष १२४ रुपैयाँ २९ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।
इन्फिनिटीको केन्द्रीय कार्यालय गण्डकी प्रदेश नवलपुर जिल्लाकाे गैडाकोट नगरपालिकामा छ । हाल विभिन्न जिल्लामा रहेका ४२ शाखा कार्यालयबाट सेवा प्रदान गरिरहेको संस्थाले जनाएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६