काठमाडौं : अर्थ मन्त्रालयका कर्मचारीद्वारा २५ बुँदे माग प्रस्तुत गरिएको छ । अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेटको तयारीमा रहँदा अर्थमा रहेको आधिकारिक ट्रेड युनियनले आगामी आर्थिक वर्षको बजेटबाट तलब वृद्धिसँगै २५ बुँदे माग प्रस्तुत गरेको हो ।
आधिकारिक ट्रेड युनियन केन्द्रीय समितिमार्फत् अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाउन मागपत्र तयार गरिएको ट्रेड युनियनका एक नेताले बताए । ट्रेड युनियनले आउँदो वर्ष सबैभन्दा थोरै तलब खाने कर्मचारीको तलब २५ हजार रुपैयाँ हुनुपर्ने उल्लेख गरेको छ।
मुख्य सचिवको तलब त्यसको पाँच गुणा हुनुपर्ने माग युनियनले गरेको छ। यसैगरी निजामती कर्मचारीको मात्रै लगानीमा ५०० मेगावाटसम्मको राष्ट्रसेवक हाइड्रो सञ्चालन गर्न पनि माग गरिएको छ।
अहिले कर्मचारी सञ्चय कोषमा तलबको १० प्रतिशत कट्टी हुँदै आएकोमा त्यसलाई बढाएर थप २० प्रतिशत बनाउन पनि माग गरिएको छ।
कर्मचारी युनियनले राष्ट्रसेवक रासन कार्ड लागू गर्न पनि माग गरेको छ। पर्यटन प्रवर्द्धनका लागि कर्मचारीलाई १५ दिनको तलबी बिदा दिनुपर्ने पनि माग गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६