काठमाडौं : वैदेशिक रोजगारबाट फर्केका युवाहरुले अब सहुलियत ऋण पाउने भएका छन् ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार वैदेशिक रोजगारबाट फर्केका १८ हजार ८ सय ७७ युवाहरुले सहुलियत व्याजको ऋण पाउने भएका हुन् ।
बोर्डका अनुसार आवेदन परेका २४ हजारमध्ये सो संख्याको आवेदन ऋणका लागि योग्य मानिएको जनाएको छ । बोर्डकी अधिकारी उर्मिला कार्कीले ४ हजार ८ सय २४ जनाको आवेदन बैंकबाट स्वीकृत भइसकेको बताइन् ।
राष्ट्रिय वाणिज्य बैंकका सबै शाखाबाट ती युवालाई ऋण दिने गरी स्वीकृत गरिएको कार्कीले जानकारी दिइन् । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक र बोर्डबीच संस्थागत रुपमा कुनै सम्झौता नभएको र प्रक्रिया पुर्याउनेलाई बैंकले व्यक्तिगत तवरले नै ऋण प्रदान गर्दै गएको जानकारी दिए ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार ११ जना युवाले ७८ लाख रुपैयाँ ऋण लगेका छन् । सरकारले वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई स्वदेशमै व्यवसाय गर्नका लागि १० लाख रुपैयाँसम्म सहुलियत व्याजमा ऋण दिने कार्यक्रम ल्याएको हो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६