काठमाडौं : आर्थिक वृद्धि र बैंकिङ पहुँचमा ५ नम्बर प्रदेश अगाडि देखिएको छ । कुल ७ प्रदेशमध्ये आर्थिक वृद्धिको हिसाबले ५ नम्बर प्रदेश सबै प्रदेशभन्दा अगाडि देखिएको जनाइएको हो ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिकको समीक्षामा प्रदेश नम्बर ५ ले सबै प्रदेशले भन्दा बढी अर्थात् ७ दशमलव ४ प्रतिशतको आर्थिक बृद्धि हासिल गरेको हो ।
प्रदेशगत रुपमा प्रदेश ५ को आर्थिक वृद्धिदर सवैभन्दा उच्च र कर्णाली प्रदेशको सबैभन्दा न्यून ५ दशमलव ७ प्रतिशत छ । देशको कुल गार्हस्थ्य उत्पादनमा प्रदेश ३ को योगदान सवैभन्दा उच्च र कर्णाली प्रदेशको सबैभन्दा न्यून छ ।
त्यस्तै बैंकहरुको पहुँचको आधारमा पनि प्रदेश नम्बर ५ अगाडि छ । बैंकिङ पहुँचको आधारमा प्रदेश नम्बर १ का ३ स्थानीय तहमा अझै बैंक पुगेको छैन भने प्रदेश नम्बर २ मा २ स्थानीय तहमा प्रदेश नम्बर ३ मा पनि २ स्थानीय तह र गण्डकी प्रदेश मा ३ स्थानीय तहमा बैंक पुगेको छैन ।
यद्यपि प्रदेश नम्बर ५ मा भने सबै स्थानीय तहमा बैंक पुगेको बताइएको छ । कर्णाली प्रदेशमा १२ स्थानीय तह र सुदूरपश्चिम प्रदेशमा ७ स्थानीय तहमा बैंक पुग्न बाँकी बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६