काठमाडौं : बुधवार शेयर बजारमा सामान्य सुधार देखिएको छ । आज शेयर बजार ७.४९ अंकले बढेर १३१९.६३ बिन्दुमा रोकिएको छ ।
बुधबार नेप्से सूचक ७.४९ अंकले बढ्दा कारोबार रकममा पनि वृद्धि भएको छ । पछिल्लो समय शेयर खरिद बिक्रीमा लगानीकर्ताको उत्साह थपिँदै गएको देखिन्छ ।
बुधबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.३५ अंकले बढेर २८१.२७ बिन्दुमा रोकिएको छ ।
कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । नेपाल बैंकको छ करोड ९६ लाख २८ हजार ३७५ रुपैयाँको शेयर किनबेच भएको छ । दोस्रो र तेस्रोमा क्रमशः प्राइम बैंक र शिवम् सिमेन्ट रहेका छन् ।
१७१ कम्पनीको ३४ लाख ३६ हजार ९३७ कित्ता शेयर ९६ करोड ६६ लाख ९३ हजार २४९ रुपैयाँमा कारोबार भएको छ । ११ समूहको कारोबार हुँदा उत्पादन तथा प्रशोधन र म्युच्युअल फण्डको उपसूचक घटेको छ । बाँकी सबै समूहको उपसूचक बढेको छ ।
बुधबारको कारोबारमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अपर तामाकोसी, अरुण काबेली, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् भने घलेम्दी हाइड्रो, हिमालयन डिस्ट्रिलरी, शिवम् सिमेन्ट, सेन्ट्रल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६