काठमाडाैँ : उपत्यकामा चल्ने ६ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले छ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उपत्यकामा सञ्चालित हरेक ट्याक्सीमा बढेको भाडा समायोजन गरिँदै आएको जानकारी दिए । विभागले विसं २०७५ असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो ।
विभागले दैनिक ८० देखि १०० ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ । यसअघि विभागले उपत्यकामा गुड्ने सबै ट्याक्सीमा प्रिन्टर मेशिनसमेत जडान गरिसकेको छ ।
सरकारले ट्याक्सीमा भाडा समायोजन गरेपछि केही ट्याक्सी चालक भने अझै पनि मिटरमा जान नमानेको जनाईएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७५ मङ्सिरदेखि हालसम्म मिटरमा जान नमान्ने तीन हजार ट्याक्सीलाई कारवाही गरेको छ । काठमाडौँ उपत्यकामा मात्र हाल१० हजार ६०० मिटर ट्याक्सी सञ्चालनमा रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।
नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतमले ट्याक्सीमा भाडा समायोजन गरेसँगै ट्याक्सी व्यवसायीलाई थोरै भए पनि राहत पुगेको बताए ।
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६