काठमाडौं : सगरमाथाको उचाइ नाप्ने सर्वे टीली सगरमाथा शिखरमा पुगेका छन् । बुधबार बिहान ३ बजे सगरमाथा चुचुरोमा पुगेका हुन् । नापी अधिकृत खिमलाल गौतम, रविन कार्की र उनीहरुका गाइड छिरिङ जाङगु शेर्पा चुचुरोमा पुगेर सगरमाथाको नाप गरेको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज जोशीले जानकारी दिए ।
भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट ५ जनाकाे टाेली सगरमाथाकाे उचाइ नापेनकाे लागि त्यसतर्फ गएका थिए । तीनजना शिखरमा पुगेका हुन् भने सुरज भण्डारी र युवराज धितालले सगरमाथा आधार शिविरबाट व्यसथापन तथा प्रविधि संयाेजनकाे काम गरिरहेकाे भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जोशीले बताए ।
नापी टोली नेपालतर्फको दक्षिण मोहोडाबाट चुचुरोमा पुगेर त्यहाँ मापनका लागि गरिने सबै काम सकेर फर्किएका जोशीले बताए । यसअघि सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ मापन गर्दा ८,८४८ मिटर मापन गरेका थिए। सन् १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ मापन गर्दा ८,८५० मिटर मापन गरेको थियो।
दुई टोलीले सगरमाथाको उचाइ फरकफरक मापन गरेपछि नेपाल सरकारको टोलीले पहिलो पटक मापन गरेकाे हाे ।
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६