काठमाडाैं : पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले प्रस्ताव गरेको सेयर खरिद-बिक्रीको सेटलमेन्ट तत्काल कार्यान्वयन नगर्न लगानीकर्ताले आग्रह गरेका छन् । सोमबार बोर्डले बिक्रीको सेटलमेन्ट प्रस्ताव गरेको थियाे ।
लगानीकर्ताको साथमा तत्कालै नगद नभई सेयर खरिद गर्न नसकिने भएकाले तत्काललाई यो व्यवस्थाको कार्यान्वयनमा नजान लगानीकर्ताले आग्रह गरेका छन् । प्रस्ताव कार्यान्वयनमा आए लगानीकर्तासँग नगद साथमा नभए सेयर खरिद गर्न सकिने छैन ।
अहिले सेयर खरिद-बिक्रीको सेटलमेन्ट तीन दिनमा हुने गरेको छ । अर्थमन्त्रालयको सहमतिमा धितोपत्र बोर्डले यसलाई एक दिनमा झार्ने प्रस्ताव अघि सारेको बताइएको छ ।
हाल ‘टी प्लस थ्री’ रहेको सेटलमेन्ट प्रक्रियालाई ‘टी प्लस वान’ मा झार्ने विषयमा छलफल गर्न धितोपत्र बोर्डले नेप्सेलाई केही समयअघि पत्र लेखेको थियो । बोर्डको पत्रका आधारमा अध्यययन गर्न नेप्सेले बनाएको एक समितिले सो सम्बन्धमा छलफल सुरु गरेको हो ।
मुद्रा तथा पूँजी बजारमा देखिएको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिको प्रतिवेदनले कारोबार सेटलमेन्ट एक दिनमा गर्नेबारे सुझाएको थियो । सोही सुझावका आधारमा बोर्डले लगानीकर्ता समक्ष उक्त प्रस्ताव गरेको धितोपत्र बोर्ड स्रोतले बतायो ।
सोही पत्रको आधारमा नेप्सेले सीडीएससी एण्ड क्लेयरिङ र लगानीकर्तासँग छलफल पनि सुरु गरिसकेको छ । सोमबार नेप्सेमा भएको त्रिपक्षीय बैठकमा एक दिनमा कसरी सेटलमेन्ट गर्न सकिन्छ भन्नेबारे गहन छलफल भएको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६