काठमाडाैं : व्यापारी अजयराज सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले ७ वर्षअघि आफ्नो ७५ प्रतिशत सेयर बिक्री गर्दा सरकारलाई पुँजीगत लाभकर नबुझाएपछि राजस्व विभागले तिर्न ताकेता गेकाे छ ।
सुमार्गीले ७ वर्षअघि ‘नेपाल स्याटेलाइट टेलिकम’को शेयर टेलिया सोनेरालाई बिक्री गर्दा प्राप्त पूँजीगत लाभ वापतको कर तिरेका थिएनन् । ‘हेल्लो नेपाल’ ब्रान्डकाे जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी ‘नेपाल स्याटेलाइट टेलिकम’ को ७५ प्रतिशत स्वामित्व टेलिया सोनेराले रु. ५ अर्ब ६३ करोड ५० लाखमा खरिद गरेको थियो ।
आयकर ऐनले २५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरेअनुसार आन्तरिक राजस्व कार्यालयले उक्त कम्पनीलाई १ अर्ब ४० करोड ८७ लाख कर निर्धारण गरेको र त्यसमा ब्याजसमेत जोड्दा ४ अर्ब ३१ करोड तिर्नुपर्ने भएकाे हाे ।